मधेश सरकार सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप सहयोग गरेको छ । प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयले मधेशका आठ जिल्ला प्रहरी कार्यालयहरुलाई १२ वटा पिकअप जिप खरिद गरेर हस्तान्तरण गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम,धनुषाले जनाएको छ ।मधेश प्रदेशको शान्ति सुरक्षा चुस्त–दुरुस्त बनाउने उद्देश्यका साथ मधेशका आठै वटा जिल्ला प्रहरी कार्यालयहरु र चार वटा इलाका प्रहरी कार्यालयहरुलाई पिकअप जिप हस्तान्तरण गरिएको प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्री फकिरा महत्तोले बताए ।

मन्त्री महत्तोका अनुसार आठै जिल्ला प्रहरी कार्यालयहरु सहित सर्लाहीको ईलाका प्रहरी कार्यालय गोडैता र गडहिया तथा रौतहटको इलाका प्रहरी कार्यालय गरुडा र चन्द्रनिगाहपुरलाई पिकअप जिप हस्तान्तरण गरिएको हो । मधेश प्रदेश सरकारले रु ३९ लाख ५ हजारका दरले १२ वटा पिकअप जिप खरिद गरेर मन्त्री महत्तोले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका प्रहरी प्रमुख एवम डिआईजी ओम प्रसाद अधिकारी,सहित आठै जिल्लाका प्रहरी कार्यालयहरुका प्रमुखहरुको विशेष उपस्थितिमा हस्तान्तरण गरेका हुन ।

भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलनका क्रममा धेरै प्रहरी कार्यालयहरुका सवारी साधनहरु जल्दा प्रहरीलाई गस्ती गर्नदेखि शान्ति सुरक्षा चुस्त–दुरुस्त बनाउन निकै समस्या भएको वस्तुगत अवस्थालाई मसल्यांकन गर्दै मन्त्रालयले सवारी साधन सहयोग गरेको प्रति मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका प्रहरी प्रमुख एवम् डिआईजी अधिकारीले विशेष धन्यवाद समेत व्यक्त गरेका छन् ।