सर्लाहीको मलंगवा टावरको अस्थायी प्रहरी पोष्ट पेट्रोल पम्पका प्रमुख भन्सार छलिका सामानहरु ओसारपसार गर्ने तस्करी गर्ने व्यापारीहरूबाट चर्काे रकम असुल्नमा व्यस्त रहेका पाइएको छ । टावरको अस्थायी प्रहरी पोष्ट पेट्रोल पम्पका प्रमुख असई लालजी यादव भन्सार छलिका सामानहरु ओसारपसार गर्ने तस्करी गर्ने व्यापारीहरूबाट चर्काे रकम असुल्नमा व्यस्त रहेका व्यापारीहरुको आरोप छ ।
उनी उक्त अस्थायी प्रहरी चौकीको प्रमुख भए पनि जिल्ला भरि तस्करी गर्ने तस्करहरूबाट रकम उठाउने काम गरिरहेको समेत खुलेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईका घुमुवाका रुपमा रहेका असई यादवले जिल्लाभरीबाट रकम असुल्ने गरेको पाइएको छ ।उक्त अस्थायी प्रहरी पोष्ट सदरमुकाम मलंगवाबाट हाइवे जाने क्रममा बिचबाटोमा छ । भारतको सोनबर्षा नाका हुँदै जिल्लाको गोरखकाली नाका भएर तस्करी धन्दा गर्नेहरूले मलंगवा हुदै हाइवेबाट तस्करीको सामान अन्यत्र लैजाने गर्दै आएका छन् ।
असई यादवले रकम उठाउने गरेका तस्करहरूमा मरिच र केराउ ठूलो मात्रामा भारततर्फ तस्करी गर्ने उमेश पट्टेल मुख्य व्यापारी हुन भने भारतबाट नेपाल तर्फ कपडाको तस्करी गर्नेहरू बिजय साह , इन्दल यादव , प्रकाश यादव , बिजय चौधरी र हासिम मुख्य व्यापारी हुन ।
असई यादव अहिले मात्रै होइन यसअघि बारा र पर्सामा कार्यरत रहँदा पनि घुमुवा रहेका र त्यहाँ रहँदा पनि असुली धन्दामा लिप्त रहेका कारण विवादीत बनेका थिए । विगत पाँच बर्षदेखि सर्लाहीमा कार्यरत रहेका यादव प्रहरी चौकी बाराउदोनको प्रमुख रहेको समयमा चरेससहित मोटरसाइकलमा पक्राउ परेका भारतीय नागरिकलाई थुनामा राखी उनको घर भारतबाट रु ३ लाख मगाएर लिइ छोडेको प्रहरी स्रोतको दाबी छ । त्यसपछि तत्कालीन प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले निजलाई चौकीबाट तानेर थुनामा राखेर पछि कार्बाही गरेका थिए । अहिले पनि उनै असई यादव प्रहरी उपरिक्षक प्रसाईको बलमा खुलेयाम असुली धन्दामा लागि परेका छन् ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत असई श्रवण भट्टराई पनि असुली धन्दामा लिप्त रहेका छन् । उनले ईलाका प्रहरी कार्यालय हरिवन मातहतको क्षेत्रबाट चर्काे रकम असुल्ने गरेका रहस्य बाहिरिएको छ । असई भट्टराईले जुवा खेलाउनेहरुसंग कमिसन,भन्सार छलीका सामान ल्याउनेहरुसंग कमिसन असुल्ने,मोटरसाईकल चोरी गर्नेहरुसंग साँठगाँठ गरे वापत कमिसन असुल्ने र हरिवन क्षेत्रका होटलहरुमा गैर कानुनी धन्दा चलाउन कमिसन असुल्ने गरेका प्रहरी स्रोतको दाबी छ । केही दिन पहिला असई भट्टराई घर गएको समयमा बागमतीबाट करिब ५ लाख सहित १२ जना जुवाडे पक्राउ परेका थिए । त्यसपश्चात सो कार्यमा असई भट्टराईको संग्लग्नता रहेको रहस्य खुलेको हो ।