Close This

भोट नदिएको भन्दै विकासको काममा ध्यान नदिएको स्थानियको आरोप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२२ गते   ३०० पटक हेरिएको

 जिल्लाका अधिकांश शाखा सडकहरु बर्खा नलाग्दै सडक हिलाम्मे भएका छन् । विकास देखाउने बाहनामा निर्माण गरिएका सडकहरु र खोलीका सडक ट्याकहरुको स्तरोउन्नती नहुँदा जिल्लाका अधिकांश शाखा सडकहरु बर्खा नलाग्दै सडक हिलाम्मे भएका हुन् ।
जसका कारण जिल्लाका अधिकांश स्थानिय निकायका स्थानिय बासीन्दाहरु मारमा परको छन् । हरिपुर्वा नगरपालिका–५ का मुकेश झाले गाउँमा जुत्ता चप्पल लगाउन नपाएको ४÷५दिन बितेकोगुनासो गर्नुभयो । सामान्य पानी पर्दा सडक हिलाम्मे हुन्छ, पैदल हिड्न समेत समस्या हुन्छ जसका कारण ४÷५ दिनदेखि जुत्ता चप्पल लगाउन नपाएको बताउनुभयो ।
हरिपुर्वा बजारमा रहेको सहकारीका सञ्चालक तथा व्यवस्थापक रहेका उनी प्रत्येक दिन बिहान १० बजे घरबाट पाइन्ट, सर्ट लगाएर जुत्ता हातमा लिएर कार्यालय पुग्ने गरेका छन् । कार्यालय पुगेपछि खुट्टाको हिलो पखालेर जुत्ता लगाई अफिस पस्ने गरेको उनले बताए ।


झा मात्र नभई गाउँमा बस्ने अधिकांशले हिलोका कारण चप्पल लगाउँदैनन्। यहाँका स्थानीय घरबाट बाहिर जानुपरे हातमा जुत्ताचप्पल बोकेर निक्लिने गरेका छन् । निषेधाज्ञाको समयमा सामाजिक कार्यमा बाहिरबाट आएकाहरू पनि चप्पल जुत्ता हातमै बोकेर गाउँ छिर्छन् । बस्तीबीचको सडक हिलोकै कारण सुनसान हुन्छ । सडक हिलाम्मे भएपछि कतिपयले खेतको आलीको बाटो प्रयोग गर्न थालेका छन् ।
नगरपालिकाको कार्यालयसमेत रहेको हरिपुर्वामा हिउँदका बेला धुलाम्मे र वर्षाका बेला सडक हिलाम्मे बन्ने गरेको छ । यो सडक यस क्षेत्रका बस्तीहरूका लागि जोड्ने मुख्य तथा अति नै व्यस्त सडक हो । तर सामान्य पानी पर्दा हिँड्नै नसक्ने हुन्छ । केही दिनअघि चिम्टाइलो माटो सडकमा विछ्याए पछि सडकको अवस्था झन् खराब भएको छ । झाले जनप्रतिनिधिले काम गर्न नसक्दा नागरिकले दुःख भोग्नुपरेको बताए । जनप्रतिनिधिले विकास गर्नै नचाहेको उनको आरोप छ । एकपटकको लगानीमा विकास भयो भने अर्को वर्ष लगानी केमा लगाउने र कार्यकर्ता कसरी पाल्ने भन्ने जनप्रतिनिधिहरूको सोच रहने गरेको उनको आरोप छ ।
हरिपुर्वा मात्र नभई त्यस क्षेत्रको अन्य गाउँको अवस्था पनि उस्तै छ । यहाँ सडकभरि हिलो नै हिलो छ । हिलाम्मे बाटोमा काम नपरी हतपत कोही निस्कँदैनन् । ‘एक त निषेधाज्ञा त्यसमा पनि हिलाम्मे बाटोमा बाध्यता प¥यो भने मात्र घरबाट बाहिर निस्कन्छौं,’ स्थानीय युवा राजेश साहले भने, ‘बाटोभरि हिलो भएकै कारण समस्या परेका बेला अथवा किनमेल गर्ने बेलामा चप्पल नलगाई बाहिर निस्कनुपर्ने बाध्यता छ ।’  विकासका नाममा उपभोक्ता समितिमार्फत जनप्रतिनिधिले कार्यकर्ता पोस्ने काम मात्र गरेको स्थानीयको बुझाइ छ ।
सडक विस्तार गर्न खोज्दा स्थानीयले घर भत्काउन नदिएको र त्यसै कारणले सडक नबन्दा नागरिकले दुःख भोग्नुपरेको हरिपुर्वा नगरपालिकाका नगर प्रमुख सियाराम रायले बताउनुभयो । पटक–पटक घर भत्काउन गरिएको आग्रह नागरिकले अटेर गरेकाले यो समस्या आएको उहाँले बताउनुभयो । 
यता, इश्वरपुर नगरपालिका–६ बयालवासमा सडकको स्तारोउन्नती  गर्ने भन्दै बजार क्षेत्रमा रहेका घरटहरा हटाएपछि सडक हिलोमै भएको छ । बजार क्षेत्रमा सडक साँघुरो रहेको भन्दै सडक विस्तार गर्ने भनी घरट हराहरु हटाएपछि बजार क्षेत्त हिलाम्मे भएको छ ।
हिलोमै सडकको स्तारोउन्नती गर्नु पर्ने विषयमा स्थानिय सरकार मौन बसेको स्थानिय सुरेश साफीले बताए । उनका अनुसार भत्काईएको संरचनाबाट निस्केको पदार्थको व्यावस्थापन गर्न नसक्दा बजार हिलाम्मे भएको छ भने बजारको सुन्दारता हराएको छ । 
स्थानीयका ईश्वरपुर नगरपालिका ६ कोबजार क्षेत्र पुर्णरुपमा हिलाम्मे छ । ‘पानी अलिअलि पर्दा मात्रै पनि हिल्लाम्मे हुँदा स्थानिय व्यापारीहरु समेत मारमा परको छन् । भने पैदल यात्रीहरु सास्ती खेप्न बाध्य भएका छन् ।
फुलजोर–त्रिभुवननगर सडक खण्डको निर्माणको काम चलेको भन्दै सडक विस्तार गर्न ईश्वरपुर नगरपालिका आफैँले सोक्षेत्रका भौतिक संरचना भत्काएको हो । ‘अहिले समस्या देखिएको सडकमा सुधार गर्ने र चाँडै नै सडकको स्तरोउन्नती हुने’ इश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज कुमार देवकोटाले बताउनुभयो । ‘झरी पर्दा ग्राभेल तथा पिच गर्ने कुरा आएन पानी पर्न छाडेपछि सडकको स्तरोउन्नती हुने उहाँले बताउनुभयो ।
त्यस्तै ईश्वरपुर नगपालिका ९  रामनगरमा सडक हिलाम्मे हुँदा एम्बुलेन्स, खाद्यान्न बोक्ने सवारी गाउँमा पस्न नसक्ने अवस्था सृजना भएको स्थानियले गुनासो गरेका छन् । स्थानियबासीले जनप्रतिनिधिहरुलाई जानकारी गराउँदा आफुलाई भोट नदिएको जवाफ दिने गरेका स्थानिय विवेक साहले बताउनु भयो  ।
इश्वरपुर नगरपालिकाकी उप प्रमुख एकावती चौधरीलाई आफुहरुले सो सडकको विषयमा जानकारी गराउँदा आफुलाई रामनगरले भोट नदिएको बताउनु भएका उहाँले बताउनु भयो । सडकको जिर्ण अवस्था रहेका कारण सो सडकमा दिनहुँ  दर्जनौँ सवारी साधन  दुर्घटना हुने गरेका छन् । भने पैदल यात्रीहरुलाई समेत आवत जावत गर्न समस्या भएको छ । 
सडकको स्तरोउन्नती गर्न कालोपत्रे गर्ने योजना रहेको भएपनि सडकमा माटो भरेर राखिएका कारण थप समस्या सृजना भएको छ । जसका कारण स्थानियबासीको जीवन कष्टकर बन्दै गएको छ । कालो पत्रे गर्ने योजना भए पनि पानी निकासीको लागि कुनै नाला तथा ढल बनाउने योजना नरहेका कारण स्थानिय थप मारमा परेका छन् । आफुले पटक पटक स्थानियबासीलाई सास्ती नदिन आग्रह गरेको भएपनि ठेकेदार कम्पनीले अटेर गरेको वडा अध्यक्ष अमिरिलाल साहले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech