सर्लाहीमा पनि ४३ औं राष्ट्रिय मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर संघको स्थापनाको अवसरमा हरेक वर्ष फागुन १५ गते यो दिवस देशैभरी मनाउने गरिन्छ । दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला कार्य समिति सर्लाहीको आयोजनामा हरिवन नगरपालिका ११ स्थित सुर्ति विकास चौरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम गरिएको संघ सर्लाहीका अध्यक्ष पूर्णबहादुर राना मगरले जानकारी दिए ।
संघका केन्द्रीय महासचिव एकबहादुर लाम्जाली मगरको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा मधेश प्रदेश सभा सदस्य एवम निवर्तमान मन्त्री बेची लुंगेली,संघका निवर्तमान केन्द्रीय सदस्य लेखराम जर्गा मगर(अर्जुन),मधेश प्रदेशका महासचिव तेजनारायण आले मगर र हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानको विशेष उपस्थिति रहेको थियो ।
त्यस्तै,संघका प्रदेश प्रदेश सह सचिव कामना क्याप्छाकी मगर,संघकै प्रदेश प्रदेश सदस्य बालकृष्ण दर्लामी मगर,उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र बलम्पाकी मगर(दिपक),संघ सर्लाहीका पूर्व सचिव हरिबहादुर लुंगेली मगरलगायतको उपस्थिति रहेको थियो । कृष पुलामी संयोजक रहेको कार्यक्रममा लोकदोहोरी गायिका कालिका पुन मगरले मगर गीतसंगित प्रस्तुत गरेकी थिईन् ।