Close This

नेपाल विद्युत प्राधिकरणको नयाँ महशुल कायम, मंसिरदेखि लागू हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-१० गते   ७२ पटक हेरिएको

नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर कायम गरेको छ ।  नयाँ महशुल दर आगामी मंसिर महिनाको विद्युत् खपतमा अर्थात पुस महिनाको बिलिङबाट लागू हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नयाँ विद्युतदर अनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने  उपभोक्तालाई ईनर्जी शुल्क लाग्ने छैन भने न्युनतम मासिक शुल्क रु ३० मात्रै तोकिएको छ । सिंगल फेजबाट विद्युत लिएर १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क रु ९ रुपैयाँ ५० पैसा प्रति युनिट कायम गरिएको छ । ४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट रु ११ रुपैयाँ कायम भएको नेपाल विद्युत प्राधिकरण वितरन केन्द्र लालबन्दीले जनाएको छ । उहाँका अनुसार थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोकिएको छ । 
मासिक ४ सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई वर्षायाममा प्रति युनिट रु १० रुपैयाँ ५० पैसा र हिउँदमा रु ११ रुपैयाँ ५० पैसा लाग्ने छ । चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि वर्षायाममा रु  १० रुपैयाँ ५० पैसा र हिउँदमा रु ११ रुपैयाँ ५० पैसा तोक्ने प्रस्ताव भएको छ ।
ट्युबेल संचालन गर्ने उपभोक्ता तथा सिँचाई उपभोक्ताका लागि अहिले रहेको महशुलमा ४० दशमलव ६९ प्रतिशत घटाईएको आयोगले जनाएको छ । नयाँ महसुल दरअनुसार टाइम अफ डे (टीओडी) मिटर लिएका औद्योगिक ग्राहकको डिमान्ड शुल्क बढाइएको छ भने अफ पिक (राति ११ देखि बिहान ५ बजेसम्म) समयको इनर्जी शुल्क घटाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech