सर्लाहीको इश्वरपुर नगरपालिका ५ स्थित सखुवनी टोलबाट दुई सय बोरा चिनी सहित मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।ईश्वरपुर नगरपालिका ५ स्थित सखुवनी टोलबाट बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६०० नम्बरको ट्रक चेकजाँच गर्दा बिल विजकमा कैफियत देखिएपछि दुई सय बोरा चिनी सहित ट्रक नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ट्रक सहित ५० किलो ग्रामका दुई सय बोरा चिनी र ट्रकका चालक ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिका २ का अन्दाजी ३७ वर्षका झलक लिम्बूलाई नियन्त्रण लिएको हो ।इलाका प्रहरी कार्यालय केश्वरगन्ज,बयलबासको टोलीले नियन्त्रणमा लिएको मिनी ट्रक,चिनी र ट्रकका चालक लिम्बूलाई आवश्यक कार्बाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवा सर्लाही पठाएको सर्लाही प्रहरीले जनाएको छ ।
पछिल्लो समय सर्लाहीमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट गरी करिब एक दर्जन घुमुवा परिचालन गरिएको भएपनि उनीहरु असुलीमा व्यस्त रहँदा जिल्लाका सिमानाकाबाट भन्सार छलीको कारोवार भई रहेको जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार भन्सार कार्यालयको राजश्व लक्ष्यमा कमि आउनु र सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीहरु कमिसन असुलीमा लाग्दा भन्सार छली ओसार पसार गर्ने तस्करहरुको मनोवल बढेको छ ।
जिल्लाको त्रिभुवननगर,सखुअवा,पर्सा,नारायणपुर र संग्रामपुरबाट चिनी तथा खाद्यान्न,किरानाका सामानहरुका साथै लक्ता कपडाहरु अवैधानीक बाटोबाट भन्सार छली लुकीचोरी नेपाल प्रवेश गर्ने गरेका सूचनाहरु निकै आउन थालेका भएपनि जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले परिचालन गरेका सादा पोशाक(धुमुवा)का प्रहरी अधिकारीहरु असुलीमा लाग्दा सो भन्सार छली चोरी पैठारी निरन्तर भै रहेको छ ।
सिमा क्षेत्रबाट भारतिय चिनी करिब २० किलोमिटर माथि इश्वरपुर नगरपालिका ५ स्थित सखुवनी टोलसम्म कसरी आयो ? सो स्थान सम्म आउन कहाँ कहाँ र कतिवटा प्रहरी युनिटहरु पार भए ? सिमा क्षेत्रबाट कसरी सो चिनी प्रवेश गर्यो ? भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको जानकारहरु बताउँछन् ।उक्त दुई सय बोरा चिनी सहित नियन्त्रणमा लिएको बागमती प्रदेश ०३–००१ ख १६०० नम्बरको मिनी ट्रक गैर बजारका दिनेश महतोको रहेको समेत पाईएको छ ।