Close This

शिक्षा क्षेत्रमा सुधार गर्दै बागमती नगरपालिका

रासस    प्रकाशित: २०७७-४-३२ गते   ४६३ पटक हेरिएको

जिल्लाको वाग्मती नगरपालिकाले नगर भित्रका जनप्रतिनिधि र कर्माचारीलाई आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पठाउन आदेश दिएको छ । नगरको नगर शिक्षा ऐन सार्वजनिक गर्दै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन गरेको हो ।
स्थानीय स्वायत्त शासन सञ्चालन ऐनअनुसार स्थानीय तहलाई प्राप्त शिक्षासम्बन्धी अधिकार प्रयोग गरी नगर शिक्षा ऐन निर्माण गरिएको नगर प्रमुख भरत कुमार थापाले बताउनु भयो ।  तत्काल कार्यान्वयन शुरु गर्ने गरी निर्माण गरिएको शिक्षा ऐन सार्वजनिक गर्दै नगर प्रमुख थापाले नगरभित्रका सरकारी सेवा सुविधा उपभोग गरिरहेका जोसुकैले अनिवार्यरूपमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताउनु भएको छ । उहाँले आफुले पढाएको विश्वास नरहेका कारण आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने शिक्षकहरुले राजिनामा दिएर घर गए हुने बताउनु भयो । 
आफ्नो नगरपालिकामा काम गर्ने कर्मचारी वा आफ्नो नगरभित्रका कर्मचारी तथा जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाउने गरेको पाइएमा राज्य र नगरबाट उपलब्ध गराइने सम्पूर्ण सेवासुविधा रोक्का गर्नुका साथै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ मा उल्लेख भएअनुसारको कारवाही समेत गर्ने नगर प्रमुख थापाले बताउनु भएको छ । आफुहरु जनप्रतिनिधि भएर आउँदा सामुदायिक विद्यालयहरुमा जम्मा २ हजार ५ सय विद्यार्थी रहेकामा अहिले ७ हजार भन्दा बढी  विद्यार्थीहरु सामुदायिक विद्यालयमा रहेका र सामुदायिक विद्यालयको पठन पाठनमा समेत निकै सुधार आएको नगर प्रमुख थापाले बताउनु भयो ।  उहाँका अनुसार लक डाउन नभएको भए चालु शैक्षिक सत्रमा आफ्नो नगरका सामुदायिक विद्यालयहरुमा १० हजार विद्यार्थी पुर्याउने लक्ष्य आफुहरुको रहेको उहाँको भनाई छ ।
शिक्षा ऐनमै आफ्नो नगरपालिकामा काम गर्ने कर्मचारी वा नगरभित्रका कर्मचारी तथा जनप्रतिनिधि र अभिभावकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने अभिभावकलाई समेत कुनै पनि व्यवस्थापन, अभिभावक तथा उपभोक्ता समिति समेतमा बस्न नपाउने व्यवस्था लागू गरिएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताउनु भयो ।नगरपालिकाले सामुदायिक विद्यालयको विकास र शिक्षामा गुणात्मक सुधार ल्याउन चालेको कदम सराहनीय रहेको भन्दै राज्यबाट आएका सेवासुविधामाथि जनप्रतिनिधि तथा कर्मचारीले ¥याल नकाटी सही तरिकाले सदुपयोग गर्नसके शिक्षाको गुणस्तरले राम्रो फड्को मार्ने जनप्रतिनिधिहरुले बताएका छन ।
ऐन कानून लागू गर्नुभन्दा पनि कार्यान्वयनमा ल्याउनु चुनौतीपूर्ण रहेकाले सबै तह र तप्काबाट शिक्षा क्षेत्रमा सुधार ल्याउन निजी विद्यालयलाई निरुत्साहित बनाउँदै सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराई अध्ययन गराउनुपर्ने आवश्यकता रहेको नगरपालिका शिक्षा शाखाले बताएको छ ।
न्गर शिक्षा शाखाका अनुसार नगरपालिकामा स्थानीय निकायको निर्वाचन हुनुभन्दा पहिला नगरभित्र आधारभूत तथा मावि गरी २५ विद्यालय थिए भने करिब २ हजार ५ सय विद्यार्थी अध्ययनरत थिए । स्थानीय निकायको निर्वाचनबाट जनप्रतिनिधि आएपछि अहिले करिब ७ हजार विद्यार्थी पुगेका नगर शिक्षा शाखाले जनाएको छ ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech