सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित साझा संस्थाको प्राङ्गणमा ठूलो लागतमा निर्माण भएको बहुउद्देश्यीय भवन प्रयोग विहिन बनेको छ।संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनुषाले रु चार करोड ४१ लामा निर्माण गरेको उत्त बहुउद्देश्यीय भवन करिब डेढ वर्ष भई सक्दा समेत प्रयोग विहिन भएको हो ।
भुइँतलामा १७ वटा व्यापारिक सटर,पहिलो तलामा तीन वटा च्याम्बर कोठा र तेस्रो तलामा एक वटा च्याम्बर कोठा सहित हल र शौचालय सहित निर्माण भएको सुविधा सम्पन्न भवन सरकोरावालाको वेवास्थाका कारण निर्माण सम्पन्न भएको करिब डेढ वर्ष सम्मपनि प्रयोग विहिन भएको हो ।
लालबन्दी नगरपालिका कार्यालय र साझा संस्थाबिच भवन प्रयोगका विषयमा सहमति जुट्न नसक्दा उक्त भवन निर्माण भएको डेढ वर्ष सम्मपनि प्रयोग विहिन भएको लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष कृष्ण कुमार कार्की(गोपाल)ले बताए ।उनका अनुसार“भवन बनेको जग्गा साझा संस्थाको भएकाले नगरपालिकाले भवन प्रयोगको विषयमा कुनै निर्णय गर्न सकेको छैन।जुन प्रयोजनका लागि भवन निर्माण भएको हो सो अनुसार प्रयोगमा आउन सकेको छैन।”
नगर विकास कोषको ऋण सहयोगमा लालबन्दी नगरपालिका–७ डुमडुमेमा निर्माण गरिएको व्यापारिक कम्प्लेक्स पनि लामो समयदेखि अलपत्र रहेकाले दिनानुदिन जीर्ण बन्दै गएको छ।रु छ करोड ४१ लाख ६० हजार तीन सय ६२ खर्चिएर निर्माण गरिएको उक्त भवन भाडामा लगाउन नगरपालिका कार्यालयले बारम्बार सूचना प्रकाशित गर्दै आइरहेको भएपनि हाल सम्मपनि भाडामा लाग्न सकेको छैन ।भने लालबन्दी नगरपालिका ४,७,८ र १० लगायतका स्थानमा निर्माण गरिएका यस्ता व्यापारिक तथा अन्य प्रयोजनका भवन प्रयोग विहीन अवस्थामा छन् ।आवश्यक भएका ठाउँमा भवन नभएर सेवा दिनै अप्ठ्यारो परिरहेको भएपनि अनावश्यक ठाउँमा करोडौँ खर्चिएर बनाइएका भवन प्रयोगमा नआउँदै जीर्ण बन्ने अवस्थामा पुगेका छन् ।
धेरै ठाउँमा कक्षाकोठाको अभावमा विद्यार्थीले पढ्न नपाएको र स्वास्थ्य संस्था साँघुरो भवनबाट सञ्चालन भइरहेका भए पनि बजेट सक्नकै लागि जथाभाबी व्यापारिक तथा अन्य प्रयोजनका भवन बनाएर वेवारिसे छाड्ने परिपाटी विकास भएको जानकारहरु बताउँछन् । उनीहरुका अनुसार स्थानीय,प्रदेश र संघीय सरकारले करोडौँ खर्चिएर निर्माण गरेका दर्जनौँ व्यापारिक तथा अन्य प्रयोजनका भवन प्रयोग विहीन हुनु राज्यको ठूलो रकमको अनावश्यक खर्च बढ्नु पनि हो ।