सर्लाहीको चन्द्रनगर गाउँपालिकाका पाँच वटा विद्यालयका शिक्षिकाहरुले गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।चन्द्रनगर गाउँपालिका भित्रका विभिन्न पाँच वटा विद्यालयमा पिशिएफ कोटामा कार्यरत सात जना शिक्षिकाहरुले चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोको कार्यकक्षमा ताला बन्दी गरेका हुन ।
विगत करिब १५ वर्षदेखि पिशिएफ कोटामा कार्यरत शिक्षिकाहरु वन्दना दास,सविता मल्लिक,प्रमिला महतो,पुनम चौधरी,आशा यादव,रन्जिता यादव र कृष्णा यादवले आफुहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट प्रा.वि सो सरह सेवा सुविधा दिएर स्थापित गर्नु पर्ने वा पुर्ण रुपमा सेवाबाट हटाउनु पर्ने माग राख्दै गत वर्षपनि गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए तर गाउँपालिकाले त्यसलाई वेवास्था गर्दै विगतका वर्षहरुमा दिँदै आएको प्रति विद्यालय वार्षिक रु एक लाख रकम दिँदै आएकोमा त्यो रकम पनि घटाएर २५ हजार मात्रै दिने निर्णय गरेपछि शिक्षिकाहरु थप आन्दोलित भएका हुन ।
चन्द्रनगर गाउँपालिका गाउँ कार्यपालिकाले निर्णय गरेर पिशिएफ कोटाका शिक्षिकाहरुका लागि वार्षिक प्रति विद्यालय रु २५ हजार मात्रै दिने निर्णय गरेपछि शिक्षिकाहरु आन्दोलीत भएका हुन । सो विषयमा बुझ्न गाउँपालिकाको शिक्षा शाखाकी संयोजक कमला बस्नेतलाई फोन गर्दा उनको फोन उठेन ।