सर्लाहीको लालबन्दी नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका बासुदेव अधिकारी विजयी हुनु भएको छ । नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवाले उम्मेदवारी फिर्ता र गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने पत्र पठाएपनि त्यसलाई अटेर गरि आफ्नो उम्मेदवारी फिर्ता नलिएका अधिकारी नगर प्रमुखमा निर्वाचित हुनु भयो ।
निकटतम् प्रतिद्वन्द्वी नेकपा(एमाले)का गोविन्द महतलाई १ हजार ६ सय ७८ मतान्तरले पराजित गरि लालबन्दी नगरपालिकाको दोस्रो नगर प्रमुखमा अधिकारी निर्वाचित हुनु भयो । अधिकारीले ९ हजार ५ सय ६१ मत ल्याउँदा एमालेका महतले ७ हजार ८ सय ८३ मत ल्याउनु भएको थियो ।
पार्टी सभापति एवम प्रधानमन्त्री देउवाले अधिकारीको उम्मेदवारी फिर्ता लिएको भन्दै वैशाख १६ गते जिल्ला निर्वाचन कार्यालय सर्लाही मार्फत निर्वाचन अधिकृतको कार्यालय लालबन्दीमा पत्र पठाउनु भएको भएपनि नेपाली कांग्रेस लालबन्दी नगर कार्य समितिले सो पत्रलाई वेवास्था गर्दै अधिकारीको उममेदवारी यथावत रहेको बताएको थियो ।
कम्युनिष्टहरुको लालकिल्लाको रुपमा विगत करिब ३० वर्ष देखि रहेको लालबन्दी नेपाली कांग्रेसको पोल्टोमा पुगेको छ । नेपाली कांग्रेसले लालबन्दी नगरपालिकाका १७ वटा वडाहरु मध्य ७ वटा वडामा जित निकालेको छ । भने नगर प्रमुख र उप प्रमुख पनि जितेको छ । २०७४ सालको स्थानिय निकायको निर्वाचनमा ४ वटा मात्र वडा जितेको कांग्रेसलाई पार्टी सभापति एवम प्रधानमन्त्री देउवाले पठाएको पत्र ठुलो चुनौती रहेको थियो । तर पार्टी सभापति एवम प्रधानमन्त्री देउवाको पत्रबाट लालबन्दीका कांग्रेसीहरु एकभएर निर्वाचन फिल बनाउन र आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन लाग्दा निर्वातमान नगर प्रमुख नेकपा)एमाले)का नेता मान बहादुर खड्काको वडामा पनि कांग्रेसले जित निकाल्न सफल भयो ।