नेपाली कम्युनिष्ट पार्टी सर्लाहीले एकता सन्देश भेला तथा जनवर्गिय संगठनहरुको छलफल गरेको छ।केही दिन पहिला केन्द्रमा पार्टी एकता गरेका १२ वटा पार्टीहरुका जिल्ला तहमा रहेका कमिटिहरुको पनि एकता सन्देश तथा छलफलहरु गरिएको नेपाली कम्युनिष्ट पार्टीका नेता अच्युतम प्रसाद काफ्लेले जानकारी दिए ।उनका अनुसार नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सह संयोजक एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल मंसिर ७ गते सर्लाहीका जिल्लास्तरीय नेता कार्यकर्ता भेटघाट कार्यक्रमका लागि आउने भएकाले सोको तयारी समेत गर्न छलफल गरिएको हो ।

केही दिन पहिला मात्रै पार्टी एकता गरी नेपाली कम्युुनिष्ट पार्टी बनेपछि तत्कालीन सबै पार्टीका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थितिमा जनवर्गिय संगठनहरुको छलफल, सह संयोजक नेपालको सुरक्षाका साथै कार्यक्रम व्यवस्थापन लगायतका विषयमा छलफल भएको नेपाली कम्युनिष्ट पार्टीका नेता कमल सुसस्लिङले बताए । उनका अनुसार तत्कालीन नेकपा(माओवादी केन्द्र)का नेता प्रल्हाद कुमार बुढाथोकी,अच्युतम प्रसाद काफ्ले,नेकपा(एकीकृत समाजवादी) पार्टीका नेता सुरेन्द्र लामा,निवर्तमान मन्त्री एवम प्रदेश सभा सदस्य बेची लुङ्गेली,नेपाल समाजवादी पार्टीका नेता र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका बहुमत सदस्यहरुको उपस्थितिमा छलफल गरिएको हो ।