हरिवनबाट ७७ केजी गाँजासहित एक युवक पक्राउ

2.4k Shares

 सर्लाहीको हरिवन नगरपालिका २ स्थित चुरेक्षेत्रबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । हरिवन नगरपालिका २ को अत्रौली खोला नजिकैबाट सोही वडाका ३० वर्षीय अशोककुमार लामा ७७ केजी गाँजासहित पक्राउ परेका सर्लाही प्रहरीले जनाएको छ । 
गाँजाको ओसारपसार भइरहेको विशेष सुराकीको आधारमा पुगेको प्रदेश २ प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोलीले लामालाई बिहिवार साँझ गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । 
प्लाष्टिकको बोराभित्र राखेर गाँजा लिएर आउँदै गरेका लामालाई बा ५२ प १९३२ नम्वरको मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार गाँजा बोकेर ल्याउँदै गरेका अन्य तीन जना भरिया भने प्रहरीलाई देख्ना साथ फरार भएका छन् ।
लामाले भरिया लगाएर आफूले नै सिन्धुलीदेखि गाँजा लिएर आएको प्रहरी समक्ष बयान दिएका छन् । उनले सिन्धुलीबाट खोलैखोला एक दिन लगाएर गाँजा ल्याएको बताएका प्रहरी स्रोतले जनाएको छ ।
जिल्लाको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने नारायणखोला तथा सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकाको चुरेभोग तथा पाखो बारीमा गाँजाको खेती हुँदै आएको छ । त्यहाँ तयार पारेर भारततर्फ निकासीका लागि ल्याउने गरिएको गाँजा सर्लाही प्रहरीले बारम्बार बरामद् गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार