चिसो बढेसंगै न्यानो कपडाको व्यापार बढ्यो

292 Shares

पछिल्लो समय लगातर चिसो बढ्न थालेपछि सर्लाहीका बजारहरुमा न्यानो कपडाको व्यापार सुरु भएको छ।जिल्लाको लालबन्दी,हरिवन,बरहथवा,बयलवास,मलङ्गवा लगायतका स्थानीय बजारमा चिसो बढेपछि न्यानो कपडाको व्यापार बढ्न थालेको स्थानीय व्यापारीहरुले बताएका छन् ।
चिसो बढेसंगै स–साना बालबालिकादेखि अन्य उमेर समूहका मानिसले लगाउने न्यानो कपडाको बिक्री बढेको लालबन्दी नगरपालिका ७ का व्यापारी संजीव लामिछाने बताए।उनका अनुसार क्रमिकरुपमा चिसो बढ्दै जाँदा ज्याकेट र स्विटर लगायत न्यानो कपडा बेच्ने पसलमा ग्राहकहरुको भीड लाग्ने गरेको छ।बजारका कपडा पसल तथा फेन्सी पसलमा ज्याकेट,स्विटर,कोट,गलबन्दी र टोपीलगायत न्यानो कपडाको बिक्री बढेको स्थानीय व्यापारीहरुले बताए ।
अन्य समयमा दैनिक पाँच÷सात हजारसम्म बिक्री हुने कपडा तथा फेन्सी पसलहरुमा चिसो बढेसंगै जाडोमा लगाइने कपडाको माग बढेकाले दोब्बर बिक्री हुन थालेको व्यापारीहरुको भनाई छ।चिसोबाट जोगिन हरेक नागरिकले न्यानो कपडाको जोहो गर्न थालेका छन् ।
मंसिर लागेपछि चिसो बढ्दै जान थालेपछि सर्लाहीका कपडा तथा फेन्सी व्यापारीहरुले संघीय राजधानी काठमाडौंसहितका ठाउँबाट धमाधम न्यानो कपडा ल्याइरहेका नगर उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकी(दिपक)ले बताए।उनका अनुसार जाडोका कारण सिरक डस्नाको व्यापार पनि बढ्न थालेको छ। सिरक डस्ना बनाउनेलाई अब जाडोयामभर कामको चटारो पर्ने गरेको जय हनुमान कपास उद्योगले बताएको छ।जाडोयाममा धेरै मानिस सिरकडस्ना बनाउने ग्राहक खोज्दै प्रत्येजसो गाउँबस्तीमा पुुग्ने गरेका छन् ।

सम्बन्धित समाचार