सिन्धुलीको दुधौली नगरपालिका–११ स्थित रहेको टाँडी स्वास्थ्य चौकी पछिल्लो समयमा उल्लेखनीय रूपमा सक्रिय बन्दै गएको छ।पर्याप्त भौतिक पूर्वाधार र सुविधा सम्पन्न भवनको अभाव हुँदाहुँदै पनि बर्थिङ सेवासहित आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्दै आएको टाँडी स्वास्थ्य चौकीले विगतमा स्थानीयवासीको विश्वास र चासो अपेक्षाकृत रुपमा जित्न नसकेको भएपनि पछिल्लो समय आफ्ना सेवा सुविधाहरुमा सक्रियता देखाएर स्थानीयको मन जित्न थालेको छ ।
पछिल्लो समयमा सीमित स्रोतसाधनकै बीचमा टाँडी स्वास्थ्य चौकीले नियमित स्वास्थ्य सेवासँगै विभिन्न सरकारी तथा गैर–सरकारी संस्थासँग सहकार्य गर्दै समुदायस्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गरेपछि स्थानीयवासीको विश्वास जित्न सफल भएको स्वास्थ्य चौकी प्रमुख बिरेन्द्र साहले बताए ।
स्थानीयका अनुसार साहले स्वास्थ्य चौकीको नेतृत्व सम्हालेदेखि स्वास्थ्य चौकीले समुदायसँगको समन्वय बढाउँदै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै सेवा सुविधामा पनि उल्लेख्यनीय विस्ता गरेको छ ।
दुधौली नगरपालिका–११ माथिल्लो पत्रिङ्गामा टोल सुधार संस्था तथा समुदायका लागि वन तथा वातावरण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उत्त स्वास्थ्य चौकीबाट प्रवाह भई रहेको सेवा सुविधाहरु र सेवा प्रवाहका सवालमा प्रशंसा भएको हो ।त्यसैगरी,दुधौली नगरपालिका स्वास्थ्य शाखाको आयोजना र टाँडी स्वास्थ्य चौकीले आफ्नो सेवा क्षेत्र भित्रका नागरिकहरुलाई लक्षित गरी डेंगु, जापानिज इन्सेफलाइटिस लगायत किटजन्य रोग नियन्त्रण सम्बन्धी कार्यक्रमहरु समेत सञ्चालन गरि रहेको टाँडी स्वास्थ्य चौकीका प्रमुख साहले बताए ।
यस्तै,दुधौली नगरपालिका–११ भित्रका विद्यालयहरुमा डेंगु,जापानिज इन्सेफलाइटिस लगायतका किटजन्य रोगहरूको रोकथाम र नियन्त्रण बारे कार्यक्रम सञ्चालन गरि रहेको छ ।वडा भित्रका विद्यालयहरुका शिक्षक, विद्यार्थीहरुका साथै अभिभावक, बालविकास सहजकर्ता तथा दिवा खाजा तयार गर्ने कर्मचारीहरूका लागि स्थानीयस्तरमा उत्पादित खाद्यवस्तुको उपभोग प्रवद्र्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको दुधौली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जगदिश मण्डलले बताए ।उनका अनुसार दुधौली नगरपालिका–११ अन्तर्गत रहेको विद्यालयहरुमा दुधौली नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा टाँडी स्वास्थ्य चौकीको सहजीकरणमा विद्यार्थीहरूलाई पोषण, व्यक्तिगत सरसफाइ तथा स्वास्थ्य शिक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।
सीमित स्रोत साधनका बाबजुद समुदाय केन्द्रित स्वास्थ्य सेवा र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै टाँडी स्वास्थ्य चौकीले पछिल्लो समय स्थानीय तहमा सकारात्मक पहिचान स्थापित गर्न सफल भएको दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्र किशोर थारुले बताए। स्वास्थ्य चौकीको सक्रियताले स्वास्थ्य सेवा प्रवाहप्रति नागरिकको विश्वास बढ्दै गएकाले आगामि आर्थिक वर्षबाट नगरपालिकाले उक्त स्वास्थ्य चौकीलाई प्राथमिकताका साथ हेर्ने समेत कार्य वाहक नगर प्रमुख थारुले बताए। आन्तरिक आयस्रोत नरहेको दुधौली नगरपालिकामा १४ वटा वडाहरु रहेका छन् भने ठूलो भूगोल रहेका कारण प्राप्त बजेट अभाव भई रहने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।