जिल्ला कारागार सर्लाहीमा रहेका कैदीबन्दीहरु मध्ये ३४ जनाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।कारागार कार्यालय मलंगवामा कैद भुक्तान गरिरहेका मध्ये मतदाता नामावलीमा नाम भएका ३४ जना कैदीबन्दीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् ।
निर्वाचन आयोगले सुरक्षाकर्मी,कर्मचारी र कैदीबन्दीले समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था गरेको छ।जस अनुसार सर्लाही कारागार कार्यालय मलंगवासहित चार स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ।कारागार कार्यालय मलंगवा,जिल्ला समन्वय समिति मलंगवा सर्लाहीको तीनबिघे चौर,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण अगर्वा अगाडिको गोलघर र पाँचकुमारी खेल मैदान पुर्नबासमा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए ।
उनका अनुसार निर्वाचन आयोगले गरेको व्यवस्था अनुसार सर्लाहीमा समानुपातिकमा मतदान गर्न पाउने ३४ जना कैदीबन्दीसहित कर्मचारी,सेना र प्रहरीसमेत गरेर छ हजार ८७ जना मतदाता रहेका छन् । अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत,एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी गरेर तीन जना मात्र परिचालन हुने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
त्यसैगरी,फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था सावधानी अपनाउन नेपाल भारत सीमानाका शील गरिएको छ।निर्वाचनलाई लक्षित गरी सोमबार १२ बजेदेखि नेपाल–भारत सीमा नाका बन्द गरि सकिएको छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सोमबारराति १२ बजेदेखि निर्वाचन सम्पन्न नहुन्जेल सम्मका लागि नेपाल–भारत सीमा नाका शील गरी आवतजावत पूर्णरुपमा बन्द गरिएको जिल्ला सुरक्षा समिति सर्लाहीका संयोजक एवम प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।उनका अनुसार सीमानाकाबाट तीन दिनसम्म बिरामी बोकेका एम्बुलेन्सबाहेक मानिस तथा अन्य सवारी साधन आउजाउ गर्न नपाउने साथै सीमामा नेपालतर्फ र भारतीय सुरक्षाकर्मीले समेत कडाई गरेका छन् ।