Close This

लालबन्दीमा ५० शय्याको आइसोलेशन वार्ड स्थापना,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२७ गते   ४८५ पटक हेरिएको

 सर्लाहीको लालबन्दी नगरपालिकाले कोरोना सङ्क्रमितको उपचार गर्न ५० शय्याको आइसोलेशन वार्ड निर्माण गरेको छ । कोरोना सङ्क्रमितको उपचार गर्न वडा नम्बर १ नवलपुर स्थित उष्ण प्रादेशिय वागवानी केन्द्रको हलमा सुविधा सम्पन्न आइसोलेसन वार्ड बनाएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
यसअघि नगरपालिकाले वडा नम्बर १ को नवलपर मै रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको हभा हलमा ५० शय्याको आइसोलेसन बनाएको थियो । सो आइसोलेसनमा स्वास्थ्यकर्मी सहितको व्यवस्था गरिएको थियो । अहिलेसम्म नगरपालिकाको आइसोलेसनमा कोरोना सङ्क्रमित भर्ना भएका छैनन् ।
आइसोलेशनमा स्वास्थ्यकर्मीको व्यवस्था गरिने स्वास्थ्य सह संयोजक  खतिवडाले जानकारी दिनुभयो । आइसोलेसन वार्डमा अक्सिमिटर र आवश्यकता अनुसार अक्सिजनको व्यवस्था गरिने लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार लालबन्दी नगरपालिका भित्रका अन्यन्त्र स्थायी ठेगाना भई हाल लालबन्दी नगरपालिका भित्र बसोबास गरि रहेकोहरुमा समेत कोरोना सङ्क्रमण देखिएको छ ।
“जिल्लामा कोरोना सङ्क्रमणको दर उच्च रहेको र नगरपालिका भित्रका सङ्क्रमितले उपचार नै नपाउने अवस्था आउन नदिन आइसोलेसन वार्ड निर्माण गरिएको हो”, नगरपालिकाकी उप प्रमुख शान्ती लामाले बताउनु भयो ।“सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन नगरपालिकाले लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यकताको आधारमा शंकास्पदहरुको पिसिआर परिक्षणका लागि स्वाब संकलन समेत गरि रहेको छ । ”          
त्यसैगरी हरिवन नगरपालिकाले हरिवन नगरपालिका ४ मा रहेको सासापुर स्वास्थ्य चौकीमा सय शय्याको आइसोलेशन वार्ड स्थापना गरेको छ । नगरबासीमा कोरोना संक्रमण देखि हालेमा समुदाय स्तरमा नफैलियोस भनेर नगरपालिकाले सय शय्याको आइसोलेशन वार्ड स्थापना गरेको नगर प्रमुख गणेश प्रसाद प्रसाईले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech