Close This

बाँकेखोला ठेकेदारको मनोमानी,स्थानिय सरकारको निर्देशन अटेर,निर्बाध खोला उत्खनन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२५ गते   १७२ पटक हेरिएको

स्थानिय सरकार र जिल्ला समन्वय समिति सर्लाहीको निर्देशन विपरित सर्लाहीको बाँके खोलामा उखनन भई रहेको छ । जिल्लाको इश्वरपुर नगरपालिकाले रु एक करोड २२ लाखमा लगाएको ठेक्कामा नगरपालिकाले यस अघि नै परिमाण पुगि सकेको भन्दै खोला उत्खनन नगर्न भन्दै ठेकेदार कम्पनीलाई परिपत्र समेत गरेको थियो । तर ठेकेदार कम्पनीले स्थानिय सरकारको निर्देशन अटेर गर्दै वातावरण प्रभाव मुल्यांकन विपरित करिब १५÷१६ फिट सम्म स्काभेटर लगाएर उत्खनन गरि रहेको छ । 
वातावरणिय प्रभाव मुल्यांकन(आईईई) अनुसार १ दशमलव ५ मिटर अर्थात ४÷५ फिट सम्म उत्खनन गर्न पाउने भएपनि आफुले करिब १५÷१६ फिट सम्म स्काभेटर लगाएर उत्खनन गरि रहेको ठेकेदार कम्पनी शिवम् कन्स्ट्रक्सन प्रा.लीका सञ्चालक व्रिजेश सिंहले स्विकार गर्नु भयो । नगरपालिकाले आफुहरुलाई दिएको मापदण्ड अनुसार खोला उत्खनन गर्दा आफ्नो कम्पनी घाटामा जाने भन्दै आफुले स्काभेटर लगाएर  मापदण्डको पालना नगरी उत्खनन गरेको उहाँले बताउनु भयो ।
अवैध तरिकाबाट उत्खनन भएको भन्दै जिल्ला समन्वय समिति सर्लाहीका सभापति तथा अनुगमन समितिका संयोजक मेथुर चौधरीको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोख्रेल,प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर,शसस्त्र प्रहरी उपरिक्षक गांगाराम श्रेष्ठ,इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकाटो लगायतले स्थलगत अनुगमन गरि अब उत्खनन नगर्नु भनि रोक लगाएको भएपनि त्यसको २४ घण्टा नवित्दै ठेकेदारले आफुखुसी उत्खनन सुरु गरेको छ । 
जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय,शसस्त्र प्रहरी बल १० हे.क्वा,इश्वरपुर नगरपालिका र आसपासका प्रहरी युनिटहरुका साथै जनप्रतिनिधिहरुलाई कमिसन बाँडेका कारण आफ्नो कार्यमा कसैले अवरोध नगर्ने ठेकेदार सिंहले दाबी गर्नु भयो ।
ठेकेदार कम्पनीले स्थानिय २२÷२५ जना अराजक शैलीका युवाहरुलाई मासिक रु १८ हजार तलब नै दिएर निर्धक्क भएर बाँके खोला उत्खनन गरि रहेको छ । यसले पुर्व पश्चीम लोकमार्गको फुल नजिकै र राष्ट्रिय गौरवको आयोजना पुर्व पश्चीम रेलमार्गको बाँके खोलामा निर्माणधिन पुल नजिकैबाट खोला उत्खनन गरिरहँदा पनि जिल्ला स्तरीय अनुगमन समिति अनुगमनको बहनामा असुलीमा लागेको स्थानियबासीको आरोप छ । आफ्नो गाउँमा नदी पस्ने जोखिम बढेको भन्दै स्थानियले पटक पटक विरोध गरेपनि वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु कमिसनमा लागेका कारण आफुहरु जोखिमको खतरामा रहेको उनिहरुको गुनासो छ ।  दैनिक ८÷९ वटा स्काभेटर,४÷५ वटा जेसिबी,३÷४ वटा लोडर लगायतर दैनिक २ सय भन्दा बढ िटिपरहरुले नदी जन्य पदार्थ जिल्लाका स्थानिय क्रसरहरुमा पुग्ने गरेको छ । 
स्थानिय विकासको  काम गर्न भन्दै स्थानिय सरकारले ठेक्का लगाएको भएपनि ठेक्का लिएका ठेकेदार कम्पनीहरुले आफुलाई कसरी फाइदा हुन्छ तेता तिर ध्यान दिँदा स्थानिय विकास निर्माणका काम सुस्त भएका छन् भने ठेकेदारहरुले सरकारी तथा निजी जमिनमा नदीजन्य पदार्थ संकलन गरि राखेका छन् ।
यता, आफुले जिल्ला प्रहरी कार्यालय,सर्लाही र महोत्तरीका साथै उनिहरुका मातहतका प्रहरी युनिटहरुलाई नदी उत्खनन भएको पाइएमा आवश्यक कार्बाही गर्न पत्राचार गरि सकेको इश्वरपुर नगरपालिकाका नगर प्रमुख देवकाटाले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech