सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक लगातारको वर्षासँगै अवरुद्ध भएका छन्। केही दिनयता पानी पर्ने क्रम बढेसँगै खोलाको बगर र चुरे क्षेत्रका गोरेटो बाटाहरू अवरुद्ध भएका छन्।
सडक नपुगेको चुरे क्षेत्रका नागरिक हरेक वर्षको बर्खायामका केही महिना कष्टपूर्ण दिनचर्या बिताउन बाध्य हुँदै आएका छन्। पूर्वपश्चिम लोकमार्गमा पर्ने लालबन्दी,हरिवन,बागमती र ईश्वरपुर नगरपालिकाका उत्तरी चुरे क्षेत्रमा पर्ने बस्तीहरूमा सडक अवरुद्ध हुँदा आवतजावत गर्न समस्या हुने लालबन्दी नगरपालिका १४ का वडाध्यक्ष सुबाई सिंह ब्लोनले बताउनु भयो ।
ईश्वरपुर नगरपालिका १२ मा पर्ने पिपलदमार, गुइडुङ, छोड्के, लामिदमार, अड्डी, लालबन्दी नगरपालिका १५ को शिर कालिन्जोर, तीनतले, भित्रीखोला, लालबन्दी नगरपालिका १४ नारायणखोला, वडा नम्बर १२ र १३ का चुरे बस्ती, हरिवन नगरपालिका १ र ८ का चुरे बस्ती तथा बागमती नगरपालिका १ र १२ मा पर्ने चुरे क्षेत्रका बस्तीमा जाने सडक लगातारको वर्षाले बिगारेको स्थानीय बासिले बताएका छन्।
खोलाको बगर एवम चुरे पहाडका गोरेटो बाटो ठाउँ–ठाउँमा बिग्रिँदा पानी पँधेरो गर्नदेखि बिरामी परेर औषधोपचारका लागि अस्पतालसम्म जान समस्या हुन थालेको लालबन्दी नगरपालिका १४ का चन्द्र घिसिङले बताउनु भयो ।
खोलामा बाढी आउँदा चुरे क्षेत्रका नागरिकलाई बर्षायाममा एकबाट अर्को बस्तीसम्म जान समेत समस्या हुने गरेको छ । हिउँद लागेपछि भने चुरेका गोरेटो बाटो केही स्थानीय निकायले र केही गाउँले आफै र खोलाको बगरको बाटो यातायात व्यवसायी मिलेर मर्मत गरी हिँड्डुल गर्न मिल्ने र हल्का सवारी साधन चल्न सक्ने बनाउने गर्दछन् ।
जेठ महिनाको अन्तिमसाता यता निरन्तर वर्षा भइरहेकोले खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बस्तीमा बाढी पस्ने डरले नागरिकहरु त्रसित भएका छन्। अघिल्लो वर्षको बर्खामा बागमती, लखन्देही, फूलजोर खोलाको बाढीले सयौं बिगाहा खेतीयोग्य जमिन कटान गरेको थियो। वर्षायाममा बाढीका कारण आइपर्ने विपद् व्यवस्थापनमा कुनै पनि स्थानीय निकायले प्रयास समेत नगरेका स्थानीयको गुनासो छ ।