Close This

प्रेस सेन्टर नेपाल सिन्धुलीद्धारा दुई स्थानिय निकायलाई ज्ञापन पत्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-४ गते   २९९८ पटक हेरिएको

सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकालाई प्रेस सेन्टर नेपाल सिन्धुलीले ज्ञापन पत्र बुझाएको छ । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात) र हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङलाई प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नवीन श्रेष्ठले ज्ञापन पत्र बुझाउनु भएको हो ।
सम्पूर्ण श्रमजीवी, क्रियाशील, परिवर्तनकारी पत्रकारहरूको छाता सङ्गठन प्रेस सेन्टर नेपाल रहेको बताउँदै यस  संस्थाले पत्रकार र पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि पटक पटक आवाज उठाउँदै आई रहेको प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँले स्थानीय सरकारले सञ्चार क्षेत्रका समस्या समाधान गर्न आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रममा सम्बोधनका लागि ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको बताउनु भयो ।
ज्ञापन पत्रमा जिल्लामा सञ्चालनमा रहेको स्थानीय सञ्चार माध्यम पत्रपत्रिका÷सामुदायिक रेडियोलाई लोक कल्याणकारी विज्ञापनको व्यवस्था गरी समानुपातिक वितरण प्रणालीको व्यवस्था गर्नुपर्ने, सिन्धुली केन्द्रित विषयवस्तु प्रकाशन,प्रसारण गर्ने तथा जिल्लामा केन्द्रीय कार्यालय रहेर सञ्चालन भएको कम्पनी मार्फत सञ्चालित अनलाई सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापनको व्यवस्था गरिनुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै हरेक आर्थिक वर्ष सुरु भएको पहिलो महिना भित्र लोककल्याणकारी विज्ञापनका लागि सम्झौता गर्ने र त्रैमासिक भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने, राष्ट्रिय सञ्चार माध्यममा प्रकाशन गर्नुपर्ने विज्ञापनका लागि राष्ट्रिय पत्रपत्रिकाका जिल्ला संवाददाता मार्फत वा स्थानीय विज्ञापन एजेन्सी मार्फत प्रकाशन गर्ने व्यवस्था गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै, सञ्चारकर्मीको समयानुकूल क्षमता विकासका लागि क्षमता अभिवृद्धि तालिम÷अवलोकन भ्रमण सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने, स्थानीय सरकार र स्थानीय सञ्चार माध्याम बिचको साझेदारीमा सार्वजनिक सुनुवाइ तथा सर्वजनिक परीक्षण कार्यक्रम त्रैमासिक रूपमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने,योजना अनुगमन लगायत पालिकाका गतिविधि पारदर्शी बनाउन सञ्चारकर्मीको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने लगायतका माग राखि मरिण र हरिहरपुरगढी गाउँपाकिलालाई ज्ञापन पत्र मार्फत दबाब दिइएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
गाउँपालिकाको सूचनाहरू स्थानीय सञ्चार माध्यममा प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्ने व्यवस्था गर्नुपर्ने, स्थानीय सञ्चार नीति प्रभावकारी कार्यान्वयन गर्नुपर्ने लिखित ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 
मरिण गाउँपालिकाका अध्यक्ष प्रख्यातले आगामी आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रममा उक्त प्रस्तावहरूलाई समेटिएर बजेट विनियोजन गर्ने बताउनु भयो । त्यस्तै हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष थिङले विकास निर्माण र सुशासनको लागि सञ्चार माध्यमसँग साझेदारी जरुरत रहेकोले आगामी नीति तथा कार्यक्रम सञ्चार मैत्री हुने बताउनुभयो । जिल्लाका ९ वटै स्थानीय निकायमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।   

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech