Close This

गाउँपालिका अध्यक्ष थापाबाटै कोरोनाको गलत हल्ला फैलियो ।

पत्र पत्रिका    प्रकाशित: २०७७-१-४ गते   ११८९ पटक हेरिएको

सिन्धुलीको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाले एक बिरामीलाई कोरोना भएको भनेपछि आफूहरुमाथि अन्याय भएको आरोप सम्वन्धित परिवारले लगाएका छन् ।

सामान्य खोकी लागेर स्थानीय स्वास्थ्य चौकीमा चेकजाँच गरेपछि गाउँपालिका अध्यक्ष थापाले नै ‘९० प्रतिशत कोरोना भएको’ भन्दै आफूहरुलाई जिल्ला अस्पताल पठाएको ती परिवारको आरोप छ । सिन्धुली जिल्ला अस्पतालमा परीक्षणका क्रममा रिपोर्टमा केही नदेखिएको भन्दै आफूहरुलाई कोरोना भएको भनेर बदनाम गर्न खोजिएको आरोप ती परिवारको छ ।

तीनपाटन गाउँपालिकाको वडा नं. ४ का ती बिरामी लकडाउनअघि घर आएका थिए । ती बिरामी ४ नम्बर वडा सदस्यका छोरा हुन् । ती वडा सदस्यले गाउँपालिका अध्यक्षले नै ‘डाक्टरहरुले तिम्रा छोरालाई ९० प्रतिशत कोरोना लागेको छ’ भन्दै गाडी लैजान सिफारिस दिएको बताए ।

गाउँपालिका अध्यक्षले नै कोरोना लागेको भनिदिएकाले गाउँपालिका र जिल्लाभरी नै सामाजिक सञ्जालमा आफूहरुको बेइज्जत भएको ती वडा सदस्यले बताए ।अध्यक्षको सिफारिस पाएपछि आफ्नो छोरालाई प्लाष्टिकले बेरेर, कसैले छुन नमानेर, तातो पानीसमेत खुवाउन नदिएर जिल्ला अस्पताल ल्याएको उनले बताए । जिल्ला अस्पतालमा आएर परीक्षण गर्दा कोरोना नदेखिएको भन्दै ती वडा सदस्यले अनावश्यक दुःख दिएको आरोप लगाए ।

कारोना लागेकाले आफूलाई गाउँ नै निकाला गरेको समेत सो परिवारको आरोप छ ।गाउँपालिका अध्यक्ष थापाले भने ती वडा सदस्यका छोरालाई आफूले कोरोना लागेको नभनेको बताए । उनले भने, ‘ब्लड टेस्ट गर्दा पनि इन्फेक्सन देखियो । लक्षण ९० प्रतिशत मिल्दोजुल्दो देखियो । हामीसँग चेकजाच गर्ने त्योभन्दा बढी थिएन । हामीले अनि कन्फर्म गर्न जानुस भनेका हौ । हामीले गाउँ निकाला गरेको हल्ला निराधार हो ।’

ती वडा सदस्यले भने आफू चैत १ गते मलेसियाबाट आएको र छोरालाई खोकी लागेपछि स्वास्थ्य चौकीले पनि हचुवाकै भरमा यस्तो गम्भीर रोगको लक्षण भन्दै हल्ला फिजाइदिएको आरोप लगाए । तर, स्वास्थ्यकर्मीहरु भने त्यो मान्न तयार छैनन् ।तीनपाटन गाउँपालिका स्वास्थ्य संयोजक राम बेचन शाह भन्छन, ‘बिरामीको छातीमा एक्सरे गर्दा दाग देखिएको छ । उनी १० दिन पहिला भारतबाट आएका थिए । ट्राभल हिष्ट्री पनि भयो । हामीकोमा आउँदा उनलाई ज्वरो १०० माथि थियो । हामीले ट्राभल हिस्ट्री, ज्वरो र उसको बुबा बाहिरबाट आएको सबै हेरेर पिसिआर गर्नुपर्छ भन्ने लागेर सिन्धुली अस्पताल रिफर गरेको कुरा साँचो हो । उनको रिपोर्ट नेगेटिभ आयो भन्ने हामीलाई थाहा भएपछि झन काइदा भो त । अब ढुक्क भयो ।’

पीडितका बाबु भने आफूहरुलाई गाउँपालिका र स्वास्थ्य चौकीले नै कोरोना भएको भन्ने हल्ला फिजाएर बेइज्जत गरेको, गाउँमा बस्नै नमिल्ने बनाएको भन्दै सिन्धुली अस्पतालमा रोएका थिए ।गाउँपालिकाले शंका गरेर पठाएको बिरामीमा कोरोना नभएको प्रष्ट भएको भन्दै सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले गाउँपालिकाले निन्दनीय काम गरेको बताए । ब्यक्तिको वैयक्तिक स्वतन्त्रता हनन हुने गरेर गाउँपालिकाले निन्दनीय काम गरेको भन्दै अध्यक्ष पोखरेलले व्यक्तिको नाम गोप्य राख्नुपर्नेमा गाउँमै बस्न नमिल्ने वातावरण बन्नु दुःखद भएको बताए ।गाउँपालिका अध्यक्ष थापाले भने बिरामी परिवारलाई गाउँमा फर्काउन प्रयास भइरहेको बताए ।https://nagarikkhabar.com

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech