आज(आईतबार) देशभर संविधान दिवस मनाइँदै छ । आज(असोज ३ गते) कै दिन अर्थात २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।
संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको हो । संविधान दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या देवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा लगायत विशिष्ट व्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको छ । यो दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले सार्वजनिक बिदा समेत दिएको छ । भने यस वर्ष असोज २ देखि ४ गतेसम्म विविध कार्यक्रम गरी संविधान दिवश मनाउने निर्णय सरकारले गरेको थियो । भने संविधान दिवसका दिन घरघरमा राष्ट्रिय झण्डा फहराउन सरकारले अनुरोध गरेको छ ।
यता तराई मधेशमा भने नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आजको दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको छ । तराई मधेशमा लामो आन्दोलनका बाबजुद मधेशीको जनभावना र अधिकार विनाको संविधान जारी भएको भन्दै तराई मधेशमा संविधान दिवसको दिन कालो दिवस समेत मनाउने गरिएको छ ।
लोसपाले तराईका मधेशका जिल्ला सदरमुकामहरुमा विभिन्न नारा जुलुससहित संविधानको विरुद्ध नाराबाजी गरेर कालो दिवस मनाएको छ । भने प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले भने संविधान दिवसमा मौन बस्ने र कुनै प्रकारको कार्यक्रम नगर्ने निर्णय गरेको छ । प्रदेश २ सरकारले समेत संविधान दिवसमा कुनै कार्यक्रम नगर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ । संविधानमा भित्रै रहेर सरकारको नेतृत्व गरिरहको, तर त्यसभित्र रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताउनु भयो । उहाँले संविधान दिवस पनि नमनाउने र विरोध पनि नगरी मौन बस्ने बताउनु भयो ।
साथै प्रदेश सरकारका कर्मचारीहरु भने सरसफाई गरी संविधान दिवस मनाएका छन् । मुख्य सचिव हरिप्रसाद मैनालीले कार्यालय र परिसर सरसफाई गरी संविधान दिवस मनाइएको बताउनु भएको छ ।