सर्लाहीको लालबन्दी नगरपालिकाले गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न भन्दै २० लाख भन्दा बढीको लागतमा एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको छ।मातृ तथा नवजात शिशुको मृत्युदर घटाउने र संस्थागत सुत्केरी अर्थात् स्वास्थ्य संस्थामै आएर प्रसूति सेवा लिने दर बढाउने उद्देश्यले लालबन्दी नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न रु २० लाख आठ हजार ७४ मा लालबन्दी नगरपालिकाले एम्बुलेन्स खरिद गरेर संचालनमा ल्याएको नगर प्रमुख बासुदेव अधिकारीले जानकारी दिए ।उनका अनुसार नगर अस्पताल लालबन्दीमा राखिने एम्बुलेन्सले नगरभित्रका १७ वटै वडामा प्रसूति सेवाका लागि गर्भवतीलाई घरमा लिन जाने र प्रसूति पश्चात घरसम्म नै पुर्याउन जाने व्यवस्था मिलाइएको छ ।
सर्लाही सहित सिन्धुली र महोत्तरीका केही पालिकाहरुका सेवाग्राहीहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरी रहेको लालबन्दी नगर अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ चिकित्सक समेत रहेका कारण प्रसुति सेवा लिन आउने सेवाग्राहीहरुको चाप रहेको नगर अस्पताल लालबन्दीका प्रमुख डा. चन्दन चौधरीले बताए ।गर्भवतीलाई डेलिभरीका लागि अस्पतालसम्म आउँदा र डेलिभरी भएपछि घरसम्म जानका लागि नगरपालिकाले दिएको एम्बुलेन्स प्रयोग गर्दा कुनै शुल्क तिर्नु नपर्ने डा.चौधरीले बताए।एम्बुलेन्सको सुविधा थपिएसंगै संस्थागत सुत्केरीको दर अझ बढ्ने नगर अस्पताल लालबन्दीले अपेक्षा गरेको छ ।
नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा.रामविश्वास रायसहित अन्य आवश्यक स्वास्थ्यकर्मी नियुक्त गरेर शल्यक्रिया मार्फत प्रसूति सेवा उपलब्ध गराउन थालेपछि संस्थागत प्रसुति सेवा लिनेहरुको संख्या ४८ प्रतिसतबाट बढेर ७६ प्रतिसत पुुगेको नगर अस्पताल लालबन्दीको तथ्यांकमा उल्लेख छ ।