सर्लाहीको बरहथवा नगरपालिका ४ स्थित खैरवा टोलमा सडक विस्तार गर्ने क्रममा चर्किएको विवादले उग्ररुप लिएपछि प्रहरी सहित १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार घाईते हुनेहरुमा बरहथवा नगरपालिका ४ खैरवा टोलका अन्दाजी वर्ष ५० का टिका बहादुर कार्की,सोही ठाउँका अन्दाजी बर्ष ५२ का कुल बहादुर कार्की,बरहथवा नगरपालिका १४ का अन्दाजी बर्ष ३५ का संजय कुशवाहा,बरहथवा नगरपालिका ४ खैरवाका अन्दाजी बर्ष ४२ का रमेश महत्तो कोइरी,अन्दाजी वर्ष ३८ की इन्दु देवी,अन्दाजी वर्ष २६ का प्रदिप कुमार कुशवहा,अन्दाजी वर्ष २८ का अनिल कुशवाहा,बरहथवा नगरपालिका ४ खैरवाका अन्दाजी वर्ष ३५ का उमेश महतो सहित इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेश र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी बरिष्ठ हबल्दार प्रमेश्वर राय यादव घाईते भएका छन् ।
घटनामा घाईते भएकाहरु मध्य कुलबहादुर कार्की र टीकाबहादुर कार्कीलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।घटनापछि प्रहरीले अनुसन्धानका लागि बरहथवा नगरपालिका ४ का निवर्तमान वडा अध्यक्ष अन्दाजी वर्ष ४० का लखेन्द्र महतो सोही ठाउँका अन्दाजी वर्ष २४ का शिशिर कार्की,बरहथवा नगरपालिका २ की अन्दाजी वर्ष ४२ की रिता कटुवाल,बलरा नगरपालिका ८ का अन्दाजी वर्ष ३१ का रन्जित महत्तो,अन्दाजी वर्ष २२ का सन्तोष कुमार कुशवाहा,अन्दाजी वर्ष २५ का अभिषेक महत्तो र अन्दाजी वर्ष २५ का अर्बिद कुमार साह सहित सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
स्थानीयका अनुसार सडक विस्तार गर्दा आफ्नो जग्गा मिचिएको भन्दै केही दिन देखी सो क्षेत्रमा विवाद हुँदै आएको थियो।केही दिनअघि एक महिलाले विरोधस्वरूप ढलान भइरहेको सडकमा लम्पसार परेर सडक विस्तारमा अवरोध गरेकी थिइन्।उनलाई केही व्यक्तिले जबर्जस्ती हटाउन खोजेपछि तनाव बढेको थियो।त्यसपछि विवादले झडपको रुप लिँदा दुवै पक्षबाट बाँसको भाटा र ढुंगा प्रयोग गरिएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ। घटनास्थलमा पर्याप्त संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ र प्रहरीको उपस्थिति तथा हवाई फायरले झन ठूलो घटना हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीयको माग अनुसार एक सय ११ मिटर सडक ढलानका लागि वडा कार्यालयले रु सात लाख बजेट विनियोजन गरेको बरहथवा नगरपालिका ४ का वडाध्यक्ष कृष्णकुमार साहले बताए।उनका अनुसार ढलान रोकिएको अवस्थामा एक्कासी बाहिरी व्यक्तिहरू आएसँगै झडप भएको र घटनाको गहिरो छानबिन गर्नुपर्ने छ।वडा अध्यक्ष साह सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।