महायज्ञ लगाएर उठेको रकमबाट गाउँमा एम्बुलेन्स सेवा सञ्चालन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-१२ गते   २५४९ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका १२, कालिन्जोरमा महायज्ञ लगाएर संकलन भएको रकमले एम्बुलेन्स खरिद गरिएको छ । कालिन्जोरस्थित भीमेश्वर युवा क्लबले गत वर्ष लगाएको महायज्ञबाट संकलित करिब रु १३ लाख लागतमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।
यसअघि त्यस क्षेत्रका गर्भवती र अन्य विरामीलाई उपचारका लागि बाहिर लानुपर्दा बयलवास, रानीगन्ज, लालबन्दीलगायतका ठाउँबाट एम्बुलेन्स मगाउनुपर्ने बाध्यता रहेको थियो। अब स्थानीय बासिन्दाले गाउँकै एम्बुलेन्सबाट सेवा पाउने भएका क्लबका अध्यक्ष हरिकुमार लुंगेलीले बताउनु भयो । उहाले गाउँमै एम्बुलेन्स भएपछि जटिल अवस्थाका विरामीलाई तत्कालै सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउन सहज हुने बताउनु भयो ।
सञ्चालनको सम्पूर्ण प्रक्रिया सकेर विरामी ओसारपसारका लागि एम्बुलेन्स स्वास्थ्यचौकी परिसरमा ल्याएर राखिएको र अब गाउँमा एम्बुलेन्स नपाएका कारण बिरामीहरुले बाहिर जान सास्ती बेहोर्नु पर्ने बाध्यता हटेको इश्वरपुर नगरपालिका १२ का वडा सदस्य कैलाश कुमार कार्कीले बताउनु भयो ।
यसअघि एम्बुलेन्स नहुँदा कालिन्जोरका गर्भवती, सर्पदंशका विरामीलाई सार्वजनिक यातायातका साधनमा समेत राखेर अस्पतालसम्म पु¥याउने गरिएको स्थानियले बताएका छन् । गाडी नै नचल्ने कालिन्जोरको उत्तरी चुरेभेगमा पर्ने पिपलदमार, लामि दमार, गुइडुङ, फूलजोरलगायतका क्षेत्रमा भने अझै पनि विरामीलाई झोलुङ्गोमा हालेर स्वास्थ्यचौकीसम्म ल्याउनुपर्ने बाध्यता रहेको छ । एम्बुलेन्स सञ्चालनमा आएपछि त्यस क्षेत्रका बासिन्दामा खुसी छाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech