रन्जीत साहको नेतृत्वमा कार्य समिति चयन गर्दै रग्वी संघ मधेश प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ।सर्लाहीको लालबन्दीमा भएको अधिवेशनले साहको अध्यक्षतामा १४ सदस्यीय समिति सर्व सहमत चयन गरेको छ ।समितिको उपा अध्यक्षमा सुरेन्द्र साह,सचिवमा निश्चल श्रेष्ठ र कोषअध्यक्षमा अनिता हुमागाई सहित सदस्यहरुमा उमेश प्रसाद यादव,दिक्षा चौधरी,संजक कुमार जयसवाल,शिव शंकर साह,उज्वल बराल,विरेन्द्र महतो,श्रवण ठकुरी,अजय झा र जय भगत चौधरी सर्व सहमत चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले तीनै तहको सरकार खेलकुद क्षेत्रको विकासका लागि पञ्छिन नहुने बताए । उनले सरकारको दायित्व पुर्ण रुपमा बहन हुन नसकी रहेको भए पनि खेलकुद क्षेत्रका संघ संगठनहरुले खेल क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुर्याई देशको गरिमा बढी रहेको अवस्थाममा राज्यले थोरैभएपनि दायित्व वहन गर्नु पर्ने बताए ।
“मधेश प्रदेश सरकारले भरखरै खेलकुद ऐन निर्माण गरि पारित गरि सकेकाले अब मधेशको खेलकुद क्षेत्रले फड्को मार्ने र खेल क्षेत्रलाई व्यवस्थित रुपमा अगाडि लगिने,खेलकुद मन्त्रालयमा बजेट कम भए पनि अब हुने राष्ट्रिय खेलकुद प्रतियोगिताहरु मधेश प्रदेश सरकारले आयोजना गर्ने साथै मधेश सरकार खेलमय बनाउन लागि परेको र संघ सरकारले त्यो वातावरण तयार गर्न जरुरी रहेको छ ।”मन्त्री जयसवालले बताए ।
मधेश प्रदेश सरकार “देशका गौरब,मधेशका खेलाडी”अभियान बनाएर पुर्व खेलाडीहरुलाई सम्मान गर्ने र नयाँ खेलाडी उत्पादन गर्ने तयारी रहेको समेत उनले बताए ।मधेशमा खेलकुदका सम्भावना र गतिविधिहरु धेरै रहेकाले यसलाई व्यवस्थापन गर्ने गरि काम गर्नुपर्ने र अरुको भूमिमा नेपालको झण्डा हल्लाउन सक्ने खेलाडी मात्रै भएकाले पनि खेलाडीहरुको दिर्घकालीन बीमा गर्ने तयारीमा मधेश सरकार लागि परेको उनले बताए ।
कार्यक्रमको अवसरमा पुर्व खेलाडी उज्वल बराल,राष्ट्रिय खेलाडी रोजिना पोखरेल र एमपी चौधरीलाई रग्वी संघ मधेश प्रदेशले सम्मान समेत गरेको छ ।कार्यक्रममा खेलकुद तथा समाजकल्याण मन्त्रालयका निमित्त सचिव चुडामणि फुयाँल,रग्वी संघका महासचिव गोविन्द घिमिरे,जिल्ला खेलकुद विकास समिति सर्लाहीका पुर्व अध्यक्ष एवम लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापा,जिल्ला खेलकुद विकास समिति सर्लाहीका पुर्व अध्यक्ष अर्जुन चौधरी लगायत खेलकुदकर्मीहरुको विशेष उपस्थिति रहेको थियो ।