सर्लाहीको हरिवन नगरपालिकाको अग्नी नियन्त्रक अर्थात् दमकल संचालन गर्न बागमती नगरपालिका र इश्वरपुर नगरपालिका पनि साझेदार बनेका छन् । दमकल संचालनमा बागमती नगरपालिकाले वार्षिक रु ३ लाख र इश्वरपुर नगरपालिकाले पनि वार्षिक रु ३ लाख व्यर्होने सहमती भएकोहरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ मा व्यवस्था भए अनुसार छिमेकी नगरपालिकाहरु बीच साझेदारी एवम संयुक्त व्यवस्थापनका क्षेत्रहरुको पहिचान गरी उपलब्ध स्रोत साधनहरु साझेदारी सहयोगमा सञ्चालन गर्ने कार्य अन्तर्गत हरिवन नगरपालिकाको स्वामित्वमा रहेको ना १ झ. ७१६ नम्बरको वारुणयन्त्रलाई आवश्यक परेको बखत बागमती नगरपालिका र इश्वरपुर नगरपालिकामा पनि परिचालन गर्ने व्यवस्थाका लागि तीन वटै नगरपालिका वीच सम्झौता भएको हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीले बताए ।

हरिवन नगरपालिकाको स्वामित्वमा रहेको ना १ झ ७१६ नम्बरको वारुणयन्त्रलाई हरिवन नगरपालिकामा राखी यसको परिचालनको लागी आवश्यक पर्ने जनशक्ति तथा अन्य उपकरणहरु व्यवस्थापन गरी सञ्चालन गर्ने,वारुणयन्त्र व्यवस्थापन र सञ्चालनको लागि लाग्ने खर्च मध्ये बागमती नगरपालिकाले रु ३ लाख वार्षिक र ईश्वरपुर नगरपालिकाले वार्षिक रु ३ लाख व्यहोर्ने,हरिवन नगरपालिकाले वारुणयन्त्रलाई नियमित रुपमा मर्मत सम्भार कार्य गरी व्यवस्थित गरि राख्ने,बागमती नगरपालिका र ईश्वरपुर नगरपालिकाको कुनै पनि क्षेत्रमा आगलागीजन्य घटना भएमा अविलम्ब उक्त क्षेत्रमा वारुणयन्त्र पुर्याई आगलागी नियन्त्रण कार्यमा सहयोग पुर्याउने लगायतका विषयहरु सम्झौता पत्रमा समेटी तीनवटै नगरपालिकाका नगर प्रमुखहरु र प्रमुख प्रशासकिय अधकृतहरुको संयुक्त हस्ताक्षरमा सम्झौता गरिएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले बताए । यस अघि दमकल हरिवन नगरपालिकाको खर्चमा चलाउनुपर्ने तर जहाँ आगलागी भएपनि नगरकै खर्चमा दौडाउनु पर्दा एउटै नगरपालिकालाई मात्रै आर्थिक भार पर्ने गरेको थियो ।

त्यस्तै,बागमती नगरपालिका र हरिवन नगरपालिका विच नगरका विकास निर्माण कार्यमा सहयोग गर्ने पनि सम्झौता भएको छ । बागमती नगरपालिका रहरिवन नगरपालिकाका नगर प्रमुखहरु विच बागमती नगरपालिका ४ र १२ मा रहेको निर्माणाधिन बागमती माछाताल(भरत ताल)बाट उत्खन्न हुने ढुंगा,गिटी,बालुवा उपलब्ध गराउने सम्बन्धमा बागमती नगरपालिका र हरिवन नगरपालिका विच सम्झौता गरिएको बागमती नगरपालिका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।
बागमती नगरपालिका र हरिवन नगरपालिका विच भएको सम्झौतामा नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अधिनमा रहि र नगरसभा र नगरकार्यपालिकाद्वारा निर्मित कानूनहरु तथा सो संग सम्बन्धित निर्णयहरु अनुसार बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछातालबाट उत्खनन् हुने ढुंङ्गा,गिट्टी र वालुवा उपलब्ध गराउने, प्रथम पक्षले दोस्रो पक्षलाई बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन बागमती माछा पोखरीबाट उत्खनन् हुने ढुंगा,गिट्टी र बालुवा ७५ हजार घन मिटर अर्थात ६२ हजार २५० टिपर ग्राबेल बिना कर हरिवन नगरपालिकालाई उपलब्ध गराउने लगायतका बुँदाहरुमा सम्झौता गरिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विमल पोख्रेलले जानकारी दिए ।
त्यस्तै,दोस्रो पक्षले ढुंगा,गिट्टी र बालुवा उल्लेखित आयोजनामा (निर्माणधिन माछा पोखरी) बाट आफै उत्खनन् गरि लानु पर्ने,उत्खनन् गर्दा बागमती नगरपालिकाको सम्बन्धित प्राविधिकसंग समन्वय गर्नु पर्ने,दोस्रो पक्षले उत्खनन् पश्चात प्राविधिकले तोकिय बमोजिम लेभिलिङ पनि गरिदिनु पर्ने,दोस्रो पक्षले उत्खनन् गरि लगेको सामाग्री दोस्रो पक्षको आयोजनमा उपयोग गर्ने,सम्झौतामा तोकिए बमोजिमको परिमाण दोस्रो पक्षले सम्झौता भएका मितिले ६ महिना भित्र लगि सक्नु पर्ने,दोस्रो पक्षले उत्खनन् सामाग्री लगि जाँदा प्रचलित मापदण्ड प्रयोग गरी ढुवानीको साधन प्रयोग गर्नु पर्ने र सम्झौतामा कुनै बाधा अडचन भए आपसी सहमतीको आधारमा परिवर्तन गर्न सकिने लगायतका बुँदामा सम्झौता गरिएको हरिवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले जानकारी दिए ।
यता,हरिवन,इश्वरपुर र बागमती नगरपालिकाबीच मिलेर दमकल चलाउने सम्झौता भइरहँदा मलंगवा नगरपालिकाको दमकल भने बिग्रिएर थन्कीएको छ । वाटर पम्प बिग्रिएकाले वारुणयन्त्र थन्काइएको र मर्मत संभार पछि मात्रै संचालन हुने नगरपालिकाले जनाएको छ ।