तरुलले राम्रो मुल्य पाएपछि जिल्लाका किसानहरु दंग

3.1k Shares

सर्लाहीका किसानहरुलाई यतिबेला तरुल खन्न भ्याइनभ्याई भएको छ । माघे संक्रान्ति नजिकिएसँगै जिल्लाका किसानहरुलाई तरुल खन्न भ्याइनभ्याई भएको हो । माघे संक्रान्तिमा तरुल बिक्री गर्दा तरुलले राम्रो मुल्य पाउने भएका कारण पनि जिल्ला किसानहरुको तरुल खेतीमा आकर्षण बढेको पाइएको छ । जिल्लाको बागमती र बरहथना नगरपालिका क्षेत्रमा तरुल राम्रो उत्पादन हुने भएका कारण पनि सो क्षेत्रका किसानहरु तरुख खेतीमा हौसिएका छन् ।
गत वर्ष रु ३५ देखि रु ४० प्रति किलोमा बिक्री भएको तरुल यसवर्ष रु ५० देखि रु ८० प्रति कलिो बिक्री गर्न पाएको लामो समयदेखि बर्सेनि व्यावसायिक तरुल खेती गर्दै आएका बागमती नगरपालिका ५ राजघाटका किसान यम कुमार मगरले बताए । उनका अनुसार माघ संक्रान्ति नजिकिएसंगै किसानहरूले उत्पादन गरेको तरुल लिन ठेकेदारहरू खेतबारीमै पुगेका छन् । 
यस वर्ष १० कठ्ठा जमिनमा तरुल खेती गरेको र तरुलले राम्रो मुल्य पाएपछि आफुलाई खुसी लागेको बागमती नगरपालिका ८ शंकरपुरका किसान जगबहादुर महतोले बताए । उनले व्यापारीलाइ प्रतिकठ्ठा  रु २५ हजारमा खेतबाटै ठेकेदारहरुले लैजाने गरेका बताए । खर्च कटाएर प्रतिकठ्ठा रु १८ देखि २० हजार आम्दानी हुने गरेको किसानहरुको भनाई छ ।
माघे संक्रान्तिमा विशेष फलारको रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमा समेत प्रयोग गर्न लैजाने गरेको किसानहरूले बताए । तरुल खेती गर्दा जमिन हेरेर बिउ, खनजोत, मलखाद र गोडमेल समेत गर्दा रु ७ देखि  १० हजार प्रतिकठ्ठा लगानी हुने किसानहरूको भनाइ छ , भने यस सिजनमा प्रति कठ्ठा रु २८ देखि ३० हजार सम्म आम्दानी हुने किसानहरूको अपेक्षा छ ।
राम्रो उत्पादन हुँदा तरुल प्रतिकठ्ठा ८ देखि १० क्वुन्टलसम्म उत्पादन हुने कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीका कार्यालय प्रमुख कमलदेव प्रसाद कुशवाहले बताउनु भयो । उहाँका अनुसार यस क्षेत्रमा झुसे(पाताले)र रातो तरुलको खेती हुँदै आएको छ । जिल्लामा मात्र यस वर्ष करिब २ सय ८५ हेक्टर क्षेत्रफलमा तरुल खेती भएको कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा प्रत्येक वर्ष करिब ५ सय टन तरुल उत्पादन हुने गरेको छ ।
यस वर्ष बढी वर्षात भएका कारण तरुल उत्पादनमा कमी आउने किसानहरूलाई चिन्ता रहेको थियो । तर तरुलले राम्रो मुल्य पाएपछि कम उत्पादन भएपनि मुल्य राम्रो पाउँदा आफुहरुलाई घाटा नहुने किसानहरुले बताएका छन् । जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको तरुल काठमाडौं, पोखरा, नारायणगढ, धनगढी, नेपालगंञ्ज गायत देशका प्रमुख शहरहरूमा निर्यात हुने व्यापारीहरुले बताएका छन् ।

सम्बन्धित समाचार