Close This

सर्लाहीको रानिगञ्जमा बिजुलीको पोलमा ट्याक्टर ठोकिँदा चालकको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१९ गते   ९५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १७ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१७ रानिगन्जमा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
लु २ त ८६२४ नम्वरको ट्याक्टर दुर्घटनामा हुँदा ट्याक्टर चालक लालबन्दी नगरपालिका–१६ परवानीपुरका ४० वर्षीय रामहरि कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनु भयो । उहाँका अनुसार शुक्रबार राति करिब साँढे ९ बजे कार्कीले चलाएको ट्याक्टर रानिगन्ज चौकबाट करिब २ सय मिटर उत्तर तर्फ रानिगन्जबाट परवानितपुरतर्फ जाने सडकमा दुर्घटनामा परेको थियोे । 
ट्याक्टर अनियन्त्रित भई ११ हजार भोल्टको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टरले ठक्कर दिएर बिजुलीको पोल भाँचिदा चालक कार्कीलाई करेन्ट समेत लागेको आशंका गरिएको छ ।
तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर उनलाई रानिगन्जमा सामान्य उपचार गराई थप उपचारका लागि लालबन्दीतर्फ लाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech