कुनै नेताको नजर नपुगेको सर्लाहीको कर्णाली अझैँ अँध्यारै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२१ गते   २५० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १४ मा पोल गाड्ने र तार टांग्ने काम भएको ३ वर्षमा पनि विद्युत सेवा सुचारु भएको छैन । आर्थिक वर्ष २०७६÷०७७ मा नेपाल विद्युत प्राधिकरणले ठेक्का लगाएर पोल गाड्ने र तार टांग्ने काम गरेको ३ वर्ष भएपनि विद्युत सेवा सुचारु नहुँदा स्थानिय अँध्यारैमा बस्न बाध्य भएका छन् । 
जिल्लाको लालबन्दी नगरपालिका १४ नारायण खोला,मोटर दोभान,डाइनी,तोरीबारी,१७ कठ्ठा,१५ बिघा र कामीटार लगायतका स्थानमा विद्युत विस्तारका लागि पोल गाड्ने र तार टांग्ने काम ३ वर्ष पहिला नै भएपनि  ठेकेदार कम्पनीको लार्पबाहीका कारण विद्युत सेवा सुचारु नहुँदा स्थानिय अँध्यारोमा बस्न बाध्य भएका हुन । टान्सफर्मर राख्ने विषयमा स्थानियले विवाद सृजना गरेपछि ठेकेदार कम्पनी विद्युत सेवा सुचारु गर्न नजाँदा सर्लाहीको कर्णाली भनेर चिनिने लालबन्दी नगरपालिका १४ नारायण खोला,मोटर दोभान,डाइनी,तोरीबारी,१७ कठ्ठा,१५ बिघा र कामीटार लगायतका स्थानमा विद्युत सेवा सुचारु नभएको लालबन्दी नगरपालिका १४ का वडा अध्यक्ष छेनाम सिं घिसिङले बताए ।
नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७६÷०७७ मा एक वर्षमा काम सकाउने गरि सो क्षेत्रमा विद्युत विस्तारको काम गर्न श्री लक्ष्मी नारायण महादेव निर्माण सेवा,मैत्री निर्माण सेवा र किरण निर्माण सेवालाई करिब रु ३० लाख लेभर खर्चमा ठेक्का दिएको थियो । तर सो समयमा कोरोना महामारी,चाडपर्वका साथै विद्युत प्राधिकरणले निर्माण समाग्री उपलब्ध गराउन नसक्दा र स्थानिय निकायको निर्वाचनका कारण सो क्षेत्रमा काम सम्पन्न नहुँदा विद्युत सेवा सुचारु गर्न नसकिएको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख संजिव कुमार साहलेबताए ।
ठेकेदार कम्पनीले पुरै रकम निकासा लिई सकेको भएपनि विद्युत सेवा सुचारु गर्न ध्यान नदिँदा पोल गाड्ने र तार टांग्ने काम गरेको ३ वर्षमा पनि विद्युत सेवा सुचारु नहुँदा अहिले विद्युतका पोलहरु ढल्ने,तार भुँइमा लत्रिने गर्नुका साथै टान्सफर्मर समेत पोलबाट तल झरिसकेको छ । आफुहरुले समयमै राम्रो काम गरेको भएपनि स्थानियबासी लगायतको अवरोधका कारण आफुहरुले समयमै विद्युत सेवा सुचारुगर्न नपाएको श्री लक्ष्मी नारायण महादेव निर्माण सेवाका सञ्चालक राजेन्द्र धामीले बताए ।
नेपाल विद्युत प्राधिकरणले सामान खरिद गरेर निर्माणमा खटिने कामदारहरुको मात्रै खर्चमा ठेक्का लगाउने गरेको भएपनि ठेक्का सम्झौता अनुसार निर्माण सामाग्रीहरुको समेत प्रयोग नभएको पाइएको छ । ठेक्का सम्झौतामा एभिसि केवल लगाउने भनिएको भएपनि ओ ५,ओ ३ अर्थात नाड्डो तर लगाएको छ । भने विद्युत सेवा सुचारु नगरिकन निर्माण व्यावसायीहरुले भुक्तानी समेत लिई सकेका छन् । सर्लाहीको कर्णाली  भनेर चिनिने सो क्षेत्रमा  निर्वाचनको समयमा नेताहरु पुग्ने गरेका भएपनि यस प्रति कसैको चासो रध्यान नपुगेको स्नीयको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech