सिरहाको जिल्ला कारागारमा कैदीहरुले कारागार भित्रै मदिरा तथा लागु औषध सेवन तथा कारोबार गर्ने गरेको भन्ने विषयमा अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी एवम जिल्ला सुरक्षा समितिका संयोजक वासुदेव दाहालले जानकारी दिए ।
उनका अनुसार सोमबारबाट काम गर्ने गरी प्रहरी नायब उपरीक्षक सोतीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र जिल्ला कारागार कार्यालयका प्रतिनिधिहरु समेत रहनेगरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।छानबिन समितिलाई १५ दिनभित्र जिल्ला सुरक्षा समितिलाई प्रतिवेदन बुझाउने समय दिइएको छ भने,छानबिन समितिले बुझाउने अनुसन्धान प्रतिवेदनका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढ्ने जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।
केही दिनअघि कारागारभित्रै मूल नाइके र अन्य कैदीहरुले मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घटना प्रमाणसहित सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।यस्तै,कारागारमा लागूऔषध उपलब्ध हुने गरेको तथ्य पनि खुलेको थियो।यसअघि शनिबार कारागारमा सिरहाका प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेनालगायतको उपस्थितिमा अनुगमन गरिएको थियो।उक्त अनुगमनका क्रममा कारागारमा सुर्तीजन्य पदार्थ लगायतका अवैध वस्तुहरू भेटिएको सो समितिले जनाएको छ ।
यस्तै,यस प्रकरणमा कारागार व्यवस्थापन विभागले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय सिरहालाई घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न र कारागार कार्यालय सिरहालाई घटनाबारे प्रतिवेदन पठाउन लिखित निर्देशन दिएको थियो।कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुको गैर जिम्मेवारीपनाको पराकाष्ठ स्वरुप सिरहाको जिल्ला कारागारमा मदिरा तथा लागु औषध सेवन तथा कारोबार र सुर्तिजन्य पदार्थको प्रयोग भएको जानकारहरु बताउँछन् ।