Close This

आरोप–प्रत्यारोपमा एमाले सर्लाही, एक–अर्काविरुद्ध विज्ञप्ती जारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२६ गते   २७७० पटक हेरिएको

नेकपा (एमाले)सर्लाहीका अध्यक्ष रेवती पन्तले सर्लाहीमा पार्टीको अर्को कमिटी बनेको भ्रामक प्रचार गरिएको बताएका छन् । अध्यक्ष पन्तले सुक्रवार प्रेस विज्ञप्ती प्रकाशित गरी केही सामाजिक संजालहरुमा सर्लाहीमा नेकपा एमालेको अध्यक्ष र सचिव मनोनित भएको भन्ने भ्रामक, झुट र अवैधानिक प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ । 
एमालेको ओली समूहकी प्रदेश २ अध्यक्ष ज्वाला कुमारी साहले पार्टीको सर्लाही जिल्ला अध्यक्षमा राजनारायण साह र सचिवमा केदार खत्रीलाई मनोनित गरेको पत्र बिहिवार मात्रै सार्वजनिक गर्नु भएको थियो । त्यसप्रति जिल्ला अध्यक्ष पन्तले विज्ञप्ती निकालेर आपत्ति जनाउनु भएको हो । जिल्ला अध्यक्ष पन्तले निकालेको प्रेस विज्ञप्तीमा २०७२ सालमा सातौं जिल्ला अधिवेशनबाट निर्वाचित नेकपा एमालेको जिल्ला कमिटी अहिले क्रियाशील रहेको र सो कमिटीको अध्यक्ष आफू, बेची लुंगेली सचिव र जमिरुदिन मन्सुर सहसचिव रहेको उल्लेख गरिएको छ ।
उपाध्यक्ष ध्रुव गौतमको मृत्यु भएपछि देवेन्द्र यादवलाई केही महिनाअघि मूर्तियामा सम्पन्न जिल्ला कमिटीको १९ औँ बैठकबाट उपाध्यक्षमा मनोनित गरिएको अध्यक्ष पन्तले बताउनु भयो । केन्द्रमा पार्टीलाई एक बनाएर लाने प्रयास भइरहेकाले जिल्लामा संयमित भई सबैलाई एकतावद्ध बनाउन काम गरिरहेको समयमा यस्तो गुटगत र फुटपरस्त कार्य हुनु दुःखद रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । अध्यक्ष पन्तले कुनै पनि भ्रममा नपरी पार्टीको आधिकारिक जिल्ला कमिटी अन्तर्गत रहन तथा अवैध प्रकारका कमिटीले गर्ने कुनै पनि प्रचार, कार्यक्रम वा निर्देशनको भ्रममा नपर्न सबै नेता तथा कार्यकताहरुसँग आग्रह गर्नु भयो ।
 यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएको जिल्ला कमिटीले पनि शुक्रवार नै प्रेस विज्ञप्ती निकालेर आधिकारिक संस्थागत कमिटी आफूहरु रहेको उल्लेख गरेको छ । सो कमिटीका अध्यक्ष राज नारायण साह र सचिव केदार खत्रीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा समानान्तर कमिटी गठन गर्दै हिँड्ने रेवती पन्त जिल्ला अध्यक्ष हुन नसक्ने उल्लेख गरेको छ । यसरी दुवै समूहले बेग्लाबेग्लै विज्ञप्ती निकालेर एकअर्कामाथि आरोप–प्रत्यारोप गर्दा नेता तथा कार्यकर्ताहरुबीचको तिक्तता झन् बढ्दै गएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech