सर्लाहीको लखन्देही खोलामा निर्माण भएका दुई वटा झोलुङ्गे पुल जीर्ण भएका छन्।तीन वर्षअघि मात्र निर्माण गरिएको लालबन्दीको जुटपानीदेखि हरिपुरको जगतपुर जोड्ने र बरहथवाको गङ्गापुरदेखि कविलासीको हेमपुर जोड्ने झोलुङ्गे पुल संरक्षणको अभावमा जीर्ण बन्दै गएका हुन ।
लखन्देही नदी स्थित जुटपानीमा निर्माण भएको झोलुङ्गे पुलको एकातिरको ला निर्माण भएको करिब तीन वर्ष मै चुडिएको छ।भने,पुलको नट(बोल्ट लगायतका सामग्री चोरी भएका छन्।पुल जीर्ण हुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ ।तीन वर्षअघि हरिपुर नगरपालिका २ जगतपुर,लालबन्दी नगरपालिका २ जुटपानी र हरिवन नगरपालिका ५ घुर्कौलीको सीमानामा झोलुङ्गे पुल निर्माण भएको थियो ।पुल निर्माण भएको करिब तीन वर्ष मै सरोकारवाला निकायले संरक्षणमा चासो नदेखाउँदा पुल जीर्ण भएको स्थानीयको आरोप छ ।
त्यसैगरी बरहथवा नगरपालिका १६ गङ्गापुर र कविलासी नगरपालिका ५ हेमपुर जोड्ने झोलुङ्गे पुलको पनि ठाउँ ठाउँको ला र त्यसमा लाग्ने नट बोल्ट चोरी भएपछि पुल भत्किने अवस्थामा पुगेको छ।पुललाई सपोट गर्ने दुवैतर्फको ला चुडिएकाले पुल हल्लिएर आवतजावत गर्न नै समस्या परेको स्थानीयको गुनासो छ ।
स्वीस सरकारको सहयोगमा सञ्चालित ट्राईल ब्रिज सपोर्ट युनिट (टीबीएसयू) परियोजना अन्तर्गत पुलको निर्माण गरिएको भएपनि संरक्षण र मर्मत सम्भारको काम पालिकाहरुले गर्नु पर्ने भएपनि थियो।जीर्ण पुल मर्मतका लागि पालिकासँग बजेट नभएकाले बेलैमा मर्मत गर्न नसकिएको जनप्रतिनिधिको भनाइ छ ।
विकास निर्माणका काममा लगानी गर्दा राम्रो कमिसन आउने आशमा स्थानीय तहहरुले ठुलो आर्थिक लगानी गर्ने गरेका भएपनि त्यसको संरक्षण तथा मर्मत सम्भारमा चासो नदेखाउँदा अधिकांश भौतिक संरचनाहरु निर्माण सम्पन्न भएको छोटो समयमै जीर्ण बन्ने गरेका छन् ।भने सरोकारवाला निकायहरु विभिन्न वाहना बाजी गरेर पञ्छिने गरेका छन् ।
आफैँले निर्माण गर्न नसकेर दातृ निकायले निर्माण गरि दिएका झोलुङ्गे पुलहरुका साथै अन्य भौतिक संरचनाहरुको संरक्षणमा समेत स्थानीय तहहरुले ध्यान नदिँदा निर्माण सम्पन्न भएको छोटो समयमै संरचनाहरु क्षतविक्षत हुने गरेका अन्य धेरै उद्धाहरणहरु छन् ।यस तर्फ स्थानीय तहले समयमै ध्यान दिनुपर्ने जानकारहरु बताउँछन् ।