बि.पी.राजमार्ग आजदेखी २४ सै घण्टा सञ्चालन हुने

313 Shares

बर्दिवास धुलीखेल बि.पी राजमार्ग असोज १ गतेबाट २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ ।मनसुन सुरु भएलगत्तै बाढी–पहिरोको उच्च जोखिमका कारण सिन्धुलीको नेपालथोकदेखि काभ्रेसम्मको सडक खण्डमा रातिको समयमा आवागमनमा रोक लगाइएको थियो।सुरक्षा समितिको बैठकले तीन महिनादेखि लगाईएको रोक हटाउने निर्णय गरेको हो ।बैठकले मनसुनको सक्रियता घट्दै गएको र चाडपर्वमा यात्रुहरूको सहजतालाई प्राथमिकता दिँदै सडक २४ सै घण्टा खुला गर्ने निष्कर्ष निकालेको हो।यात्रुको सुरक्षाका लागि पूर्व स्वीकृत सडक सुरक्षा कार्ययोजना अनुसार सतर्कता अपनाइने यातायात व्यवस्थापन तथा सञ्चालन समितिले जनाएको छ ।
उत्त सडकमा प्रशासनले यसअघि असार पहिलो सातादेखि राति १२ घण्टा पूर्णरूपमा यातायात बन्द गरेको थियो,जसलाई पछिल्लो पटक भदौ १६ देखि थप १५ दिनका लागि निरन्तरता दिइएको थियो ।खुर्कोटदेखि काभ्रेभञ्ज्याङसम्म थुप्रै स्थानहरू अत्यन्तै जोखिमयुक्त भएकाले त्यहाँ विशेष रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ।काठमाडौँ प्रवेश गर्ने सवारीलाई नेपालथोकमै रोकिने व्यवस्था र काठमाडौँबाट बाहिरिने सवारीलाई काभ्रेमै रोक्ने प्रणाली अपनाइएको थियो।दशैं–तिहार लगायतका चाडपर्वहरु नजिकिएका कारण लाखौं यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न सहज बनाउन २४ सैँ घण्टा सवारी साधनहरु सञ्चालनको निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
गत वर्ष असोज पहिलो साता आएको ठूलो बाढी–पहिरोले चौकीडाँडादेखि वर्षेखोलासम्मको आठ किलोमिटर सडक पूरै बगाएको र त्यसपछि अस्थायी आवागमन मात्रै सम्भव भएको अनुभवलाई ध्यानमा राख्दै प्रशासनले सावधानीका उपायहरू अघि सारेको हो।बाढी–पहिरोले खुर्कोट–नेपालथोक ३४ किलोमिटर र नेपालथोक–धुलिखेल ५० किलोमिटर सडक खण्डमा ठूलो क्षति भएको थियो।अहिले भने राजमार्गलाई स्थायी रुपमा पुनःनिर्माण गर्न चारवटा खण्डमा ठेक्का प्रक्रिया अघि बढाइएको छ ।पूर्वी नेपाललाई राजधानीसँग नजिक बनाउने यो राजमार्गबाट दैनिक हजारौँ यात्रु र मालवाहक सवारीसाधन सञ्चालन हुन्छन् ।

सम्बन्धित समाचार