जिल्ला अदालत सर्लाहीले भोली(आइतवार)बाट आफ्नो सेवा नियमित गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट जिल्ला भित्रका सार्वजनिक सवारी साधनहरु संचालन लगायत सेवाहरु सूचारु गर्ने निर्णय गरेपछि अदालतका न्यायाधीश, कर्मचारी, बार एशोसिएसनका अध्यक्ष र जिल्ला न्यायाधिवक्ताको बैठकले अदालतको सेवा प्रवाहलाई पनि नियमित गर्ने निर्णय गरेको हो ।
अदालतमा म्याद, तारिखमा उपस्थित हुनुपर्ने सर्लाही जिल्ला भित्रका सेवाग्राहीहरु साउन ५ गतेदेखि बाटोको म्याद बाहेक ३० दिन अर्थात भदौ २ गतेभित्र उपस्थित हुनुपर्ने निर्णय गरिएको जिल्ला अदालत सर्लाहीले जनाएको छ ।
सर्लाही जिल्ला बाहेक अन्य जिल्लाका सेवाग्राहीका हकमा अन्तर जिल्ला सार्वजनिक यातायातको साधन संचालनमा आएको मितिले बाटाको म्याद बाहेक ३० दिन भित्र उपस्थित हुने, तारिख लिन उपस्थित हुँदा भरसक जति गतेको तारिख तोकिएको थियो, सोही गते अदालतमा उपस्थित भई तारिख व्यवस्थापन गर्न सहयोग गर्ने र काम कारवाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा तथा निवेदनहरुमा रहेका हदम्याद, म्याद तारेख नगुजार्ने समेत निर्णय भएको छ ।
साउन ३ गते आइतवारबाट सेवाहरु नियमित गरिएपनि अदालतको नियमित पेशी भने साउन ८ गते सुक्रवारबाट इजलास समक्ष पेश गरिने सर्लाही जिल्ला अदालतले जनाएको छ ।