Close This

पार्थिव शरीर चिकित्साशास्त्र अध्ययनको लागि दान गर्ने नेता वाग्लेको घोषणा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२० गते   ३४६ पटक हेरिएको

नेकपा (एमाले) सर्लाहीका नेता चूडामणि वाग्लेले मृत्यु पछिको पार्थिव शरीर चिकित्साशास्त्र अध्ययनको लागि दान गर्ने घोषणा गर्नुभएको छ । आफ्नो जन्म दिनको अवसर पारेर सोमबार वाग्लेले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत मृत शरीर दान गर्ने बताउनु भएको हो ।
उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पार्थिव शरीर दान गर्न जाने योजना भए पनि कोभिड १९ को कारण घोषणा मात्र गर्न सकेको जानकारी दिनुभयो । अवस्था अनुकुल भएपछि शरीर दानवारे एक अस्पतालसँग सम्झौता गर्ने जाने उहाँले बताउनु भयो । नेता वाग्लेले कोभिडका कारण आफुले कुरा गरेको स्वास्थ्य प्रतिष्ठानले पनि अवस्था सहज भएपछि मात्र कागजात मिलाउन आउनु आग्रह गरेको बताउनु भयो ।
मृत्यु पछि शरीरलाई खरानी वनाएर फाल्नु भन्दा केही उपयोग होस भन्ने आफुलाई लागेको भन्दै आफ्नो मृत शरीर चिकित्साशास्त्र अध्ययनको लागि दान गर्ने घोषणा गरेको बताउनुभयो । 
कम्तीमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई आफ्नो शरीर केही सिक्न काम लागोस भन्ने चाहेको उहाँको भनाई छ । शरीर दान गर्ने सम्वन्धमा पारिवारिक सल्लाह समेत भई सकेको उहाले जानकारी दिनुभयो ।
नेता वाग्ले तुलनात्मक रुपमा इमान्दार र स्पष्ट राजनैतिक कार्यकर्ताको रुपमा परिचित हुनुहुन्छ । नेकपा एमालेको माधव झलनाथ समुहका जिल्ला कमिटी सदस्य उहाँ यस पहिले लामो समय पत्रकारिता पेशामा रहनु भएको थियो । नेपाल पत्रकार महासंघ सर्लाही शाखा सस्थापक अध्यक्ष नेता वाग्ले  केही वर्ष देखि पत्रकारिता पेशा छोडेर पुर्ण रुपमा राजनैतिक र सामाजिक काममा सक्रिय रहनु भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech