छिमेकी देश भारतमा हुन लागेको बिहार विधानसभा निर्वाचन–२०२५ लाई लक्षित गर्दै नेपाल–भारत सीमा सुरक्षाको समन्वय बैठक सीतामढीस्थित सोनबरसा सम्पन्न भएको छ ।दुबै देशका सुरक्षा अधिकारीहरूको सहभागीतामा भएको बैठकले सीमा क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न र आपराधिक गतिविधिहरु नियन्त्रणमा ल्याउन संयुक्त रूपमा कार्य गर्ने सहमति गरेको छ ।
बैठकमा आपसी सहयोग र सूचनाको शीघ्र आदान–प्रदान,आपराधिक तत्वहरूको गतिविधिमा निगरानी,अवैध सामान तथा मादक पदार्थको तस्करी नियन्त्रण,अवैध मुद्राको प्रवाह रोकथाम र सीमामा हुने अवाञ्छित गतिविधि नियन्त्रणका विषयमा छलफल भएको थियो।नेपाल तर्फबाट सहभागी नेपाल प्रहरीका अधिकारीहरूले निर्वाचन अवधिमा भारत–नेपाल सीमामा सुरक्षा सतर्कता बढाइने र सीमाबाट हुने सम्भावित गैरकानूनी आवागमन तथा तस्करी रोक्न थप गस्ती व्यवस्था गरिने बताएका छन्।दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति र आपसी विश्वास कायम राख्दै आपराधिक गतिविधि नियन्त्रणका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल भारत खुल्ला सीमाना रहेका कारण दुवै देशका सुरक्षा अधिकारीहरु विच सद्भावपुर्ण व्यवहार रहँदै आएको छ ।