पुष्पलालको ४३ औँ स्मृति दिवस सप्ताहव्यापी रुपमा मनाइने नेकपा(एमाले) सर्लाहीको तयारी

2.6k Shares

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस सर्लाहीमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने भएको छ । लालबन्दी नगरपालिका–१५, परवानिपुर बोहोरे डाँडास्थित पुष्पलाल स्मृति पार्कमा शनिवार बसेको पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाही शाखाको बैठकले पुष्पलालको स्मृतिमा सप्ताहव्यापी कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । पुष्पलालको स्मृति दिवस यही साउन ७ गते परेको छ ।
त्यसदिन पार्कमै समेत कार्यक्रम गर्ने र त्यसपछि साताव्यापी रुपमा वृक्षारोपण, सरसफाई जस्ता कार्यक्रम गर्ने निर्णय भएको नेकपा एमाले सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिनुभयो ।
सप्ताहव्यापी कार्यक्रमकै समयमा बोहोरे डाँडामा पुष्पलालको नवनिर्मित शालिकको पूर्व प्रधानमन्त्री एवम पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा अनावरण गर्ने निर्णय भएको नेकपा)एमाले) सर्लाहीकी जिल्ला सचिव बेची लुंगेलीले जानकारी दिनु भयो । लुंगेलीकै निर्वाचन क्षेत्र विकास कोषको झण्डै रु १ करोडको लागतमा स्मृति पार्कसहित पुष्पलालको शालिक निर्माण गरिएको छ । 
पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाही शाखाका अध्यक्ष उद्धव पाठकको अध्यक्षतामा बसेको बैठकमा पार्टीका जिल्ला अध्यक्ष पन्त, प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, नेताहरु सुरेन्द्र लामा, गोबिन्द अधिकारी, चूडामणि वाग्ले, प्रकाश थापा, बसन्त भट्टराई लगायतको उपस्थिति रहेको नेकपा)एमाले) सर्लाहीले जनाएको छ। 

सम्बन्धित समाचार