Close This

खानेपानी संस्था लालबन्दीको अध्यक्षमा पोखरेलको जित,गुम्यो आदर्शबादीको प्रतिष्ठा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२९ गते   १४२० पटक हेरिएको

तेस्रो शहरी साना खानेपानी संस्थाद्धारा सञ्चालीत लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लि.को अध्यक्षमा देवनाथ पोखरेल विजयी हुनु भएको छ । नेकपा(एमाले) र राप्रपाको तर्फबाट उम्मेदवारी दिनु भएका पोखरेल २ हजार ८८ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
अध्यक्षमा विजयी पोखरेलका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा(एकिकृत समाजवादी)को तर्फबाट अध्यक्ष पदका उम्मेदवार इन्द्र योञ्जनले १ हजार ८ सय ८० मत प्राप्त गरेका छन् । पोखरेलले योञ्जनको भन्दा २ सय ८ मत बढी ल्याएका ल्याउनु भएको हो । नेकपा(माओवादी केन्द्र),जसपा र लोसपाको तर्फका अध्यक्ष पदका उम्मेदवार हेमबहादुर श्रेष्ठ (श्याम) ले ४ सय ८५ मत प्राप्त गरेका छन् । 
यस्तै,संस्थाको उपाध्यक्षमा नेकपा एमालेका गंगाराम महतो निर्वाचित भएका छन् । महतोले १ हजार ९ सय २३ मत प्राप्त गरी उपा अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका अर्जुन चौधरीले १ हजार ८ सय ८८ र जसपाका इन्द्र बलले ५ सय ६१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
यता,सचिवमा पनि एमालेकै हरिमाया थिङ १ हजार ९ सय १२ मत ल्याई विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी अप्सरा वाग्लेले १ हजार ८ सय ५० र माओवादी केन्द्रका राधादेवी भण्डारीले ५ सय ६१ मत प्राप्त गरिन् । संस्थाको कोषाध्यक्षमा भने नेकपा(एकीकृत समाजवादी)का डुकेन्द्र बहादुर खत्री (कपिल) विजयी भएका छन् । उनले १ हजार ९ सय ६० मत प्राप्त गर्दा एमालेका मानबहादुर विश्वकर्माले १ हजार ७ सय ५२ र माओवादी केन्द्रका घमकुमार श्रेष्ठ (राजकुमार) ले ६ सय ४ मत ल्याएका छन्  ।
त्यस्तै, खानेपानीको ४ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान भएको थियो । मतदानमा ६ हजार ८ सय ३५ उपभोक्तामध्ये ४ हजार ७ सय ४५ उपभोक्ताले मतदान गरेका थिए । खानेपानी संस्थाको केन्द्रीय कार्यालय लालबन्दी नगरपालिका  ६ लेखाली चौरमा शनिबार राती १० बजे पछिबाट मतगणना सुरु गरी आइतबार दिउँसो सम्पन्न गरिएको निर्वाचन समितिका संयोजक गोपाल थापाले जानकारी दिनु भयो ।
दलहरुले खानेपानीको यो निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका थिए । खानेपानी संस्थाले लालबन्दी नगरपालिकाको ११ वटा वडामा खानेपानी सेवा वितरण गर्दै आइरहेको छ । खानेपानी संस्थामा व्यापक अनियमितता रहेको र त्यसलाई चिरफार गर्न भन्दै पोखरेलले नेपाल सरकारको उप–सचिव पदबाट राजिनामा दिएर खानेपानीको अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech