Close This

रु २० करोड लगानीमा गाइपालन, १५ जनालाई रोजगारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१४ गते   १०५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाइफाम सञ्चालन गरिएको छ । स्थानिय अप्सरा सिलवालले कामधेनु गौसला प्राली नामक कम्पनी दर्ता गरेर व्यवसायिक गाई पालन शुरु गर्नु भएको हो ।
लालबन्दी नगरपालिका २ लखनदेही नदी किनारको जग्गामा कामधेनु गौसला प्राली नामक कम्पनी दर्ता गरि गाई फार्म सञ्चालन गरि गाईपालन शुरु गर्नु भएको हो । शुरुमा  २ वटा गाई पालेर गाई पालन शुरु गर्नु भएकीे सिलवालले अहिले १ सय ५० वटा गाई पाल्नु भएको छ । जमिन आफैँले खरिद गरेर शुरुमा रु १० लाख लगानी गर्नु भएकी सिलवालले अहिले १८ विघा जमिनमा घाँस लगाउनुको साथै गाई फामको विस्तार गरि १ सय ५० वटा गाईहरु पाल्नु भएको छ ।
फार्ममा अहिले साना–ठूला गरी १ सय ५० वटा गाई रहेका छन् । तीमध्ये ६५ वटा गाईले दूध दिन्छन् भने  ५२ वटा गाई ब्याउनेछन् । हाल बिहान बेलुकी गरी दैनिक ७ सय लिटर दूध उत्पादन हुने फर्म सञ्चालक  सिलवालले बताउनुभयो ।
गाई पालनमा सबै आफ्ना परिवारको पुर्ण साथ रहेको सिलवालले बताउनुभयो । यसो गर्दा सबैमा आत्मीयता र अपनत्वको भावना जाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार गाई पालनमा जग्गा सहित रू २० करोड लगानी पुगिसकेको छ । गाई खरिद र गोठ तथा अन्य भौतिक पूर्वाधार निर्माणका साथै गाई फार्म भएको जमिन कम्पनी कै रहेका कारण हाल सम्म रु २० करोड लागत लागेको उहाँको भनाई छ । 
सिलवाललेका श्रीमान अजित शरण लामिछाने पुर्खाैली पेशा पण्डित्याईमा व्यस्त रहनु हुन्थ्यो तर पछिल्लो क्रममा स–परिवार मिलेर आफ्नो पुर्खाैली पेशा पण्डित्याई छाडेर गाई पालनमा लागेको र पण्डित्याई पेशा भन्दा गाई पालन पेशामा आफू खुसि रहेको उहाँहरको भनाई छ । 
आफुले पुर्खाैली पेशा गरि रहँदा आफू मात्र बाचेको तर गाई पालन शुरु गरेपछि अरुले पनि आफ्नो गाई फार्ममा रोजगारी पाएको लामिछानेले बताउनु भयो । फार्मलाई व्यावस्थापन गर्ने,हेरचाह गर्ने लगायतका काममा आफुले आफ्ना परिवार र आफन्तको साथ पाएको उहाँको भनाइ छ । गाई फार्म सञ्चालनबाट आफुहरु खुसी भएको उहाँले बताउनु भयो । फार्ममा उत्पादन भएको दूध ४० लिटर फार्मबाट र ६ सय ६० लिटर डिडिसी तथा प्राइभेट डेरीहरुमा दिने गरेको उहाले बताउनुभयो । ‘बिहान ५ नबज्दै स्थानीय बासिन्दाहरु दूध लिन फार्ममा आइसक्नुहुन्छ ।’ सिलवालले भन्नुभयो ‘शुद्ध दूध पाइने हुँदा स्थानीय मात्र नभई  लालबन्दी,हरिवन लगायतको बजारबाट समेत दूध लिन आउनुहुन्छ ।’ आफुले शुरुमा २ वटा गाई पाल्न शुरु गरेको र अहिले गाई बाच्छा बाच्छी गरेर १ सय ५० वटा रहेका उहाँको भनाइ छ ।
१८ विघा जमिन कम्पनीले खरिद गरेर त्यहि जमिनमा गाईलाई आवश्यक पर्ने घाँस लगाएको र गाई भैँसीका लागि आवश्यक पर्ने साईजेल नामक पौष्टिक आहारा समेत आफुहरुले नै उत्पादन गर्ने गरेको सिलवालले बताउनु भयो । गाईहरुका लागि दैनिक करिब ४ हजार २ सय किलो साईलेज दाना खपत हुने गरेको छ भने कम्पनीले उत्पादन गरेको साइलेज करिब ८५ टन बाहिर समेत पठाउने गरिएको सिलवालले बताउनु भयो । हाल फाममा उत्पादन भएको जैविक मल ५ टन फाम बाहिरका नागरिकहरुलाई दिनेगरेको उहाँको भनाई छ ।
१८ विघा जमिन क्षेत्र भित्र गाई फाम,घाँस उत्पादन,साइलेज दाना उत्पादन, ग्याँस प्लान्ट र गोबर ग्याँस उद्योग समेत सञ्चालनको तयारी अवस्थामा रहेको छ । १ हजार गाई पाल्ने योजनाका साथ शुरु भएको अभियानले अहिले १५ जनालाई रोजगारी समेत दिएको छ । विभिन्न ६ प्रजातीका गाईहरु पालिएको फाममा एउटा गाईले १० लिटर देखि २५ लिटर सम्म एक पटकमा दुध दिने गरेको सञ्चालकको भनाई छ ।
फाममा पालिका गाईहरु नवलपरासी तथा विरगञ्जबाट ल्याउने गरिएको र होल्स्टेन,जर्सी,जर्सी क्रस,साईवाल,गिर र हरियाण लगायतका प्रजातीका गाईहरु हाल फाममा रहेका सञ्चालकले बताएका छन् । फाममा पशु सेवा प्राविधिकहरुको समेत व्यावस्था गरिएको सञ्चालक सिलवालले बताउनु भयो । फाममा २ जना  सहित पशु सेवा प्राविधिकहरु फाममा २४ सैँ घण्टा रहने गरेका छन् ।
गाई पालनमा यति धेरै लगानी भइसके पनि कुनै पनि तहको सरकारबाट अहिलेसम्म कुनै सहयोग नलिएको  सिलवालले बताउनुभयो । अनुदानका लागि प्रदेश र सङ्घ सरकारमा फारम भरे पनि अहिलेसम्म कोही पनि अनुगनम तथा निरीक्षणको लागि नआएको उहाँले बताउनुभयो । ‘हुन त राज्यले अनुदान देला भनेर गाई पालन गरेको हैन’ सिलवालले भन्नुभयो ‘तर पनि दुई चार वटा मात्र गाई पाल्नेले पनि अनुदान लिएको सुनिन्छ तर हाम्रो यति ठूलो फार्ममा अहिलेसम्म सरकारका मान्छेहरु हेर्नसम्म आएका छैनन् भने अनुदान पाउने कुरा सपना झैँ भएको छ ।’गाइबाट कम्पोष्ट मल बनाउने र ग्याँस प्लान्ट निर्माण गर्ने तयारी समेत भई रहेको उहाँले बताउनु भयो ।
सामान्य खेती किसानीमा रहन्ु भएकी सिलवालले आफु मात्र बाँचेर नहुने भन्दै बेरोजगारहरुलाइ रोजगारी दिने लक्ष्यका साथ फाम सञ्चालन शुरु गर्नु भएको हो । कृषि प्रधान देशमा आफुहरुले पनि व्यावसायिक कृषि पेशा गर्नु पर्छ भन्ने लागेर करिब १० वर्ष पहिला २ वटा गाईबाट शुरु गरेको फामले अहिले १ सय ५० वटा गाई पालेर १५ जना स्थानिय बेरोजगार नागरिकलाई रोजगारी दिन सफल भएको छ ।
सिलवाल ’पढेलेखे हाकिम बनिन्छ, पढ्न नसके गोठालो’ भन्ने नेपाली उखानलाई चुनौती दिइ रहनु भएको छ । सिलवालले सञ्चालन गरेको गाई फामको मोडल नेपालमा हाल सम्म नरहेको उहाँको दाबी छ ।
सिलवालका अनुसार “लगनशील भएर काम गर्ने हो भने कमाइका लागि नेपाल छाडेर विदेशमा भौँतारिनु नपर्ने बताउनु हुन्छ ।” उहाँ अहिले दुधबाट मासिक करिब रु १० लाख ५० हजार रकम संकलन गर्नु हुन्छ । सिलवालले विसं २०६८ देखि गाई फार्म सञ्चालन शुरु गर्नु भएको थियो । अन्र्तराष्ट्रिय मोडलमा शूरु गरिएको गाई फाम थप व्यवस्थित पार्दै अन्य गाई फामहरुको तुलनामा  फरक र व्यवस्थित बनाउँदै लैजाने तयारी गरेको सिलवालले बताउनु भयो ।
आफुले शुरु शुरुमा गाईफाम सञ्चालन गर्दा के नपुग्दो थियो र गाईपाल्न शुरु गरेको भन्नेहरु अहिले आश्चर्यमा परेका उहाँको भनाई छ । पुजा पाठ तथा पण्डित्याई गरेर जीविका चलाई रहेको उक्त परिवार पछिल्लो क्रममा गाई पालनमा व्यस्त रहने गरेको छ । आफ्ना आफ्न्तहरुको पनि पछिल्लो क्रममा राम्रो साथ पाएको सिलवालले बताउनु भयो ।
व्यावसायिक रूपमै गाई पाल्न आकर्षित भएको सो परिवारले निकट केही दिनमा अरु बेरोजगारहरुलाई पनि रोजगारी दिने र गाई फामलाई थप व्यवस्थित बनाउँदै लैजाने योजनामा आफुहरु रहेको सो परिवारले बताएको छ ।
हाल उन्नत जातका गाईहरु पालिएको भए पनि अबका केही समयपछि लोकल प्रजातिका गाईहरु पनि पाल्ने उहाँहरुको योजना रहेको छ । “पढेर जे अध्ययन गरियो त्यही पेसा गर्नुपर्छ भन्ने छैन। अरूको देखासिकी गर्नु राम्रो हुँदैन ।” भनेर आफुहरुले गाई पालन शुरु गरेको उहाँहरुको भनाई छ ।
गाईपालन र गोठ सुधारका लागि सिलवालले  २ जना पशु सेवा प्राविधिहरु राखेर गाई हरुको हेरचाह गर्ने गरेका छन् । आफ्नै गाईले जन्माएका बाच्छीहरूबाट नै भोलीका दिनमा गाई फामलाई थप विस्तृत पार्दै लैजाने योजना रहेको सञ्चालकले बताउनु भयो । सिलवालले दूध बेचेर मात्रै दैनिक मासिक रु १० लाख ५० हजार आम्दानी गर्ने गरेको बताउनु भयो ।
उहाँले अरु किसानलाई एकैचोटि ठूलो महत्वाकाङ्क्षा नराख्न र सानो स्तरबाट व्यवसाय थाल्न सुझाव दिनु भयो । “एकैचोटि ठूलो फार्म खोल्दा ती बन्द भएका छन्। ’सानो तर दिगो काम गर्नूस’ भन्ने उहाँको सुझाब छ ।” हालैका वर्षहरूमा सरकारले व्यापक प्रचारप्रसार गरेर अघि बढाउँदै आएको अनुदान कार्यक्रमलाई पनि सुधार गर्नुपर्ने उहाँको सुझाव छ । वास्तविक किसान पहिचान नगरी सरकारले लगानी गर्दा त्यसले प्रतिफल नदिएको उहाँको ठम्याई छ ।
दृढता,मेहनत र इमान्दारीताले सफलतातर्फ डोर्र्याउनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले  “यहाँ नेपालमा पनि विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ ।” भन्नेमा आफुलाई हेर्न आग्रह समेत गर्नु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech