Close This

टुटेश्वरनाथ महादेव मन्दिर प्रसिद्ध धार्मिकस्थल तथा पर्यटकिय स्थलको रुपमा परिचित हुँदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१८ गते   १०१ पटक हेरिएको

 प्रदेश २ कै प्रसिद्ध धार्मिकस्थल तथा पर्यटकिय एवम ऐतिहासिक स्थलको रूपमा परिचित महोतरीको टुटेश्वरनाथ मन्दिर पछिल्लो समयमा आएर आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम महेन्द्र लोकमार्गबाट करिब ७ किमी उत्तरतर्फ बर्दिवास नगरपालिका– ५ मा पर्ने पौराणिक एवम् धार्मिक आस्था बोकेको टुटेश्वरनाथ महादेव मन्दिर आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ । 
हरेक वर्ष साउन महिनाको प्रत्येक सोमबारका दिन हजारौँ दर्शनार्थीहरू यस मन्दिरमा जल चढाउनका लागि आउने गर्दछन् । तर विगतको वर्ष र यस वर्ष तुलनात्मक हिसाबले कम दर्शनार्थीहरु आएका बर्दीवास नगरपालिका ५ का वडा अध्यक्ष दल बहादुर थापाले जानकारी दिनु भयो । उहाँका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको नियन्त्रणका लागि भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगतको तुलनामा गत वर्ष र यस वर्ष कम दर्शनार्थीहरु आएका हुन ।
प्रदेश २ कै प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित टुटेश्वरनाथ महादेव मन्दिरमा मनोकामना पूरा भएपछि श्रद्धालुहरु काँवर लिएर आउने, लड्डु चढाउने, सुन–चाँदी दान गर्ने, भौतिक संरचना बनाइ दिने जस्ता भाकल गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
टुटेश्वरनाथ महादेव जस्ता धार्मिक स्थलहरुलाई पर्यटन केन्द्रको रूपमा समेत विकास गर्दैै लगिएको बर्दिवास नगरपालिकाका नगर प्रमुख विदुर कुमार कार्कीले बताउनु भयो । उहाँका अनुसार प्रदेश २ कै प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित टुटेश्वरनाथ महादेव मन्दिरआफ्नै नगरपालिकामा पर्ने भएकाले पनि यस स्थललाई प्रदेश २ कै प्रसिद्ध धार्मिकस्थल तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न नगरपालिका लागे छ ।
मराह नदी र खहरे खोलाको शिखरमा रहेको हिन्दूहरूको पवित्र धार्मिक स्थल टुटेश्वरनाथ मन्दिरमा साउनको प्रत्येक सोमबार बाहेक हरितालिका तीज, एकादशी, शिवरात्रिका दिन पनि मेलालाग्ने गर्दछ । मेला हेर्नका लागि आसपासका जिल्ला लगायत सीमावर्ती देश भारतको विभिन्न स्थानहरुबाट बर्सेनि हजारौँ श्रद्धालु भक्तजन आउने गर्दछन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech