स्व.रामवृक्षको ३१ औं स्मृति दिवसको अवसरमा चन्द्रनगर ४ मा १५ सय विरुवा रोपिने

358 Shares

स्व.रामवृक्ष यादवको ३१ औं स्मृति दिवसको अवसरमा सर्लाहीको चन्द्रनगर गाउँपालिका ४ मा वृक्षारोपण गरिने भएको छ।नेकपा(माओवादी केन्द्र)निकट योङ कम्युनिष्ट लिग,नेपाल सर्लाहीको आयोजनामा चन्द्रनगर गाउँपालिका ४ स्थित पोखरीयामा एक हजार पाँच सय विभिन्न प्रकारका फलफुलका विरुवाहरु रोपिने माओवादी केन्द्र चन्द्रनगर कमिटिका संयोजक लोकेन्द्र मुखियाले जानकारी दिए।उनका अनुसार चन्द्रनगर गाउँपालिका ४ को मोहनपुर बजारदेखि चन्द्रनगर र ब्रम्हपुरी गाउँपालिकाको सीमाना स्थित मोहनपुर गेट सम्म एक हजार पाँच सय विभिन्न किसिमका विरुवाहरु रोप्ने तयारी भएको हो ।
माओवादी केन्द्र मधेश प्रदेशका इन्चार्ज मातृका प्रसाद यादव सहित निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह,माओवादी केन्द्र सर्लाहीका इन्चार्ज एवम केन्द्रीय सदस्य अच्युतम प्रसाद काफ्ले लगायतका माओवादी केन्द्रका नेताहरुको सहभागीतामा वृक्षारोपण कार्यक्रम गरिने भएको हो ।चन्द्रनगर गाउँपालिकाले रु चार करोड ७५ लाखको लागतमा सुरु गरेको सोहजन अभियानलाई उत्त क्षेत्रमा स्थानीयले अवरोध गरेर विभिन्न किसिमका फलफुलहरु लगाउने तयारी गरेका स्रोतको दाबी छ । 
को हुन रामवृक्ष ?
२०५१ भदौ १ गते संयुक्त जनमोर्चा नेपालले आव्हान गरेको नेपाल बन्दलाई सफल पार्दै जनकपुरबाट फर्कने क्रममा भोलिपल्ट भदौ २ गते(आजै)का दिन तत्कालीन शाही सेना तथा प्रहरीले नेपाली कांग्रेसको इशारामा नेपाली क्रान्तिकारी आन्दोलनका एक कहिल्यै नअस्ताउने चम्किला तारा रामवृक्षको षड्यन्त्रपूर्वक हत्या गरेका थिए।धनुषाको बरमझियाको मध्यम किसान परिवारका पिता रामलखन यादव र आमा सम्पत्तिदेवी यादवको कोखबाट २००३ सालमा जन्मिएका रामवृक्षले २०२२ सालमा मेट्रिक परीक्षा उत्तीर्ण गरेर ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए ।त्यसपछि आफ्नै गाउँको प्राथमिक विद्यालयमा केही समय प्रधानाध्यापक भएका रामवृ साँच्चिकैको लडाकु, संघर्षशील,क्रान्तिकारी नेता,लेखक,गायक र संगीतवादक थिए ।
“महान् जनयुद्ध”को तयारीमा जुटिरहेका बेला पार्टीका केन्द्रीय सदस्यसमेत रहेका रामवृक्षलाई “जनयुद्ध”सुरु हुनुअघि नै क्रूरतापूर्वक हत्या गरिएको थियो ।घरपरिवार, विद्यालय हुँदै राजनीतिमा प्रवेश गरेका रामवृक्ष वि.सं. २०२९ मा नेकपा (चौम) को सम्पर्कमा पुगे।२०३० मा मजदुर आन्दोलनमा सक्रिय भूमिका खेल्दै सिरहा,धनुषा,सर्लाही र  महोत्तरीलगायत तराईका विभिन्न जिल्लामा सक्रियताका साथ लागेका रामवृक्षको सक्रियताले  शान्ति सुरक्षामा खलल पु¥याएको भन्दै तत्कालीन राज्यले जेल सजाय दियो ।
रामवृक्षका कारण बरमझिया गाउँका सम्पूर्ण नागरिक तत्कालीन प्रशासनबाट पीडित थिए। २०३० कात्तिकमा जेलमुक्त भएपछि नेकपा (चौम) ले उनको कामबाट प्रभावित भएर २०३१ मा पार्टीको संगठित सदस्यता दियो ।तत्कालीन सरकारले कम्युनिस्ट पार्टीसँगको संलग्नता थाहा पाएपछि रामवृक्षलाई जागिरबाट निष्कासन गरियो ।उनलाई राजनीतिक प्रतिशोधका आधारमा राजकाज अपराधअन्तर्गत २०३५ पुस १ देखि २०३७ वैशाख ५ गतेसम्म पुनःजेल हालियो।पछि राजबन्दी रिहाइमा उनी छुटे । बहुदलको हार र निर्दलको जितपछि रामवृक्ष को घर तोडफोड भयो।उनको सम्पत्ति लुटियो । त्यसपछि रामवृक्ष भूमिगत हुन बाध्य भएका थिए ।
२०४१ मा भएको पाँचौँ महाधिवेशनपछि पार्टी विभाजन हुँदा उनले नेकपा (मसाल) को केन्द्रीय सदस्यको जिम्मेवारी पाए।उनलाई फेरि षड्यन्त्रपूर्ण ढङ्गले २०४५ जेठदेखि २०४८ सम्म कर्तव्य ज्यान मुद्दामा फेरी जेलमा हालियो।पछि २०५१ भदौ १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्दलाई जनकपुरबाट सफल पारेर फर्कने क्रममा भोलिपल्ट अर्थात् भदौ २ गते उनकोे हत्या भयो ।
पछि जनयुद्धमा सामेल भएका उनका एक मात्र छोरा शेखर यादवको पनि २०५८ मा हत्या भयो।२०५९ मा उनका छोरी ज्वाइँ डम्बर यादवको सहादत भयो।पछि २०६७ मा उनकी श्रीमती तत्कालीन सांसद एवम् तत्कालीन एकिकृत नेकपा (माओवादी) की केन्द्रीय सल्लाहकार रामकुमारी यादवको पनि सिलिन्डर पड्किएर दुःखद अवसान भयो ।
आज उनका सन्तानको रूपमा चार जना छोरीहरू छन् जसमध्ये दुई जना अहिले पनि नेकपा (माओवादी केन्द्र) को नेतृत्व पंक्तिमा छन्। एक जना बोधमाया कुमारी यादव र अर्की नेकपा(माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवम प्रदेश सभा सदस्य सुनिता यादव छिन् भने अरु दुई जना सुधा यादव र कल्याणी यादव छन् ।उनीहरू पनि माओवादी केन्द्र कै सक्रिय सदस्यको जिम्मेवारीमा रहेका माओवादी केन्द्रले जनाएको छ ।
नेपालमा जनयुद्ध सुरुवातको समयमा केन्द्रीय तहबाट भएको यो ठूलो बलिदान थियो।तराई मधेसमा माओवादीको प्रभाव विस्तार रोक्ने देशी–विदेशी षड्यन्त्रमा रामवृक्षको हत्या भएको माओवादी केन्द्रको निष्कर्ष छ।माओवादी केन्द्रले प्रत्येक वर्ष भदौ २ गते स्व.रामवृक्षको  स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ।

त्याग, बलिदान र उत्सर्गको अभूतपूर्व कीर्तिमान कायम गरेका महान् शहीद स्व.रामवृक्षप्रति भावपूर्ण श्रद्धाञ्जलि ।

सम्बन्धित समाचार