सर्लाहीको लालबन्दी नगरपालिका ६ जनवादी चोकमा भूमि सम्बन्धी समस्या समाधान आयोग विघटनका विरुद्ध रिले अनसन शुरु भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले साउन १९ गते भूमि सुधार आयोग विघटन गर्नु भएको थियो ।
भूमिहिन,सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरि रहेका नागरिकहरुलाई व्यावस्थापन गर्न गठन गरिएको भूमि सुधार आयोग सरकार परिवर्तन भएपछि विघटन भएको भन्दै लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार कार्कीको नेतृत्वमा रिले अनसन शुरु भएको हो ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सरकार रहेको समयमा देवी प्रसाद ज्ञावालीको अध्यक्षतामा भूमि सुधार आयोग गठन गरिएको थियो । सुकुम्बासी,भूमिहिन र अव्यवस्थित बसोबास गरि रहेका नागरिकहरुलाई जग्गाको मालिक बनाउने,व्यवस्थित बसोबास गर्ने लक्ष्यका साथ तत्कालीन सरकारले आयोग गठन गरेको थियो ।
नेपाली कांग्रेसको नेतृत्वको सरकार आएपछि भूमि सुधार आयोग नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता कर्यकर्ता पाल्ने थलो भएको भन्दै साउन १९ गते विघटन गरेको थियो । देशभरका सुकुम्बासी,भूमिहिनहरुको लगत संकलन कार्य चलि रहेको समयमा प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले सुकुम्बासी तथा भूमिहिन नागरिकहरुलाई सधैँ एटै दर्जामा राख्न आयोग विघटन गरेको भन्दै आफुहरुले उक्त निर्णय फिर्ता नलिएसम्म अनसन जारी राख्ने लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष कार्कीले कमलामाई मिडिया प्रालिलाई बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सरकारले नागरिकमुखी काम गरेको र नेकपालेशुरु गरेकोनागरिमुखी काम कांग्रेसको सरकारले देख्न नसकेको उहाँको भनाई छ ।
भूमिहिन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई सरकारले सधैँ भूमिहिन बनाउने काम शुरु गरेको भन्दै भूमि सम्बन्धी समस्या समाधान आयोग संघर्ष समिति लालबन्दीले यस अघि हस्ताक्षर अभियान शुरु गरेको थियो ।