Close This

मालपोत कार्यालय मलंगवाको सेवा नियमित गर्न प्रजिअ महतोको आग्रह,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२८ गते   ५० पटक हेरिएको

जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्ला मालपोत कार्यालय मलंगवालाई सम्पूर्ण सेवा नियमित गर्न निर्देशन दिएको छ । जिल्ला मालपोत कार्यालय सर्लाहीमा कार्यरत अधिकांश कर्माचारीहरु अस्वस्थ भई जनशक्तिको अभाव भएको र अत्यधिक भीडभाडका कारण कोरोना संक्रमण फैलने खतरा रहेको भन्दै आफ्ना गतिविधिहरु नियमित नगरेको सेवाग्राहीहरुबाट गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आफ्ना सेवाहरु नियमित गर्न आग्रह गरेको हो ।
बिहिवार जिल्ला प्रशासन  कार्यालय सर्लाहीबाट भएको  छड्के निरीक्षणमा  केही कर्मचारी पूर्व स्वीकृति नलिई अनुपस्थित रहेको र त्यसबाहेक अधिकांश कर्मचारी कार्यालयमा हाजिर रहेको पाइएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताउनु भयो । छड्के जाँच पश्चात् कर्मचारीहरु कार्यालयमा नियमित हाजिर भएर पनि सेवा प्रवाह नगर्दा  गम्भीर लापरवाही भएकाले जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी आलोपालो वा टोकन प्रणाली अपनाई  कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु तत्काल सूचारु गर्न मालपोत कार्यालयलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी महतोले बताउनु भयो । उहाँका अनुसार आगामी दिनमा पूर्व स्वीकृती नलिई कर्मचारी अनुपस्थित हुने अवस्थाको पूर्णरुपमा अन्त्य गर्दै सेवाग्राही मैत्री रुपमा जनगुनासो नहुने गरी सेवा प्रवाहको समुचित व्यवस्था गर्न अनुरोध गरिएको छ । यता जिल्ला मालपोत कार्यालय सर्लाहीका कार्यालय प्रमुख पनिलाल यादवले आइतवारदेखि आफ्ना सबै सेवा नियमित गरिने  बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech