सर्लाहीको पर्सा गाउँपालिकाको प्रशासनिक भवनको उद्धघाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष किसुनदेव रायले नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो ।
उपभोक्ता समिति मार्फत रु ८० लाखको लागतमा उक्त दुई तल्ले भवनको निर्माण कार्य सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।
भवनको एउटा तल्लामा आठ कोठा र शौचालय रहेको छ भने ग्राउण्ड फ्लोर तरकारी बजारको लागि खुल्ला छोडिएको छ । त्यस्तै चालु आर्थिक वर्षमा तेश्रो तल्ला निर्माण गरिने पर्सा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थिङ्गले जानकारी दिनु भयो । उहाँका अनुसार पर्सा गाउँपालिकाको कार्यालय रहेको दुई कोठे भवन तथा भाडाको घरमा गरी गाउँपालिकाको कार्यालय संचालन हुँदै आएको थियो ।