प्रहरीकै संलग्नतामा लागुऔषध कारोबारमा पत्रकारलाई फसाउने प्रयास

3.7k Shares

रौतहटका एक पत्रकारलाई प्रहरीले लागुऔषध ओसारपसारमा फसाइएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत असइ उदय यादव र जवान मनोज साहको संलग्नतामा पत्रकारको मोटरसाइकलमा नाइट्राभेट नामको लागुऔषध राख्दै गरेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि प्रहरीकै संलग्नतामा पत्रकारलाई फसाएको  खुलेको हो ।
मोटरसाइकलमा लागुऔषध लुकाउन असइ यादव र जवान साहले स्थानीय दुई युवालाई प्रयोग गरेको सिसिटिभि फुटेजमा देखिएको छ । असई यादव जिल्ला प्रहर िकार्यालय रौतहटका सुचना संकलक हुन । गत साउन ३२ मा प्रहरीले स्थानीय अनलाइनका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागुऔषध ‘नाइट्राभेट’सहित पक्राउ गरेको थियो । उनीसँगै राजपुर नगरपालिका–७ का शेख गुलाब अतिउल्लाहलाई पनि सादा पोसाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो। 
तर, शनिबार सार्वजनिक भएको सिसिटिभि फुटेजमा पक्राउ पर्नुभन्दा केही समयअघि पत्रकार र उनका साथी होटेलमा खाजा खान पसेको समयमा असइ यादव र जवान साहको प्रत्यक्ष उपस्थितिमा दुई युवाले मोटरसाइकलमा लागुऔषध लुकाउँदै गरेको दुश्य देखिएको छ । सिसिटिभी फुटेज बाहिरिएपछि प्रहरीले मोटरसाइकलमा लागुऔषध राख्ने धिरज यादव र जितेश यादवलाई नियन्त्रणमा लिएको छ । तर, प्रहरीलाई भने नियन्त्रमा लिइएको छैन ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता नारायणप्रसाद चिमौरियाले सिसिटिभि फुटेजमा देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताउनु भएको छ । प्रहरीको संलग्नताबारे भने उहाँले तत्काल कुनै प्रतिक्रिया दिन नसक्ने बताउनु भयो ।
यसैबीच, नेपाल पत्रकार महासंघ रौतहट शाखाले नियोजित रूपले पत्रकारलाई लागुऔषध ओसारपसारमा फसाउन खोज्ने दुवै प्रहरीलाई कडा कारबाहीको माग गरेको छ । महासंघका रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले शनिबार एक विज्ञप्ति जारी गरी दुवै प्रहरीलाई नियन्त्रणमा लिएर निलम्बन गरी कारबाही अघि बढाउन माग गर्नु भएको छ । 
पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले केन्द्रीयस्तरको अनुसन्धान हुनुपर्ने माग गर्दै फसाइएका दुवै पत्रकारलाई तत्काल रिहाइ गर्न आग्रह गर्नु भएको छ । केही दिनअघि पत्रकार मोजिबुल्लाहले सुचना संकलक असइ यादवका गलत क्रियाकलापबारे अनलाइनमा समाचार लेखेका थिए । त्यही रिसइबी साँध्न नियोजित रूपमा उनलाई लागुऔषध कारोबारमा फसाउन खोजिएको रौतहटका पत्रकारहरूले आशंका गरेका छन् । 

सम्बन्धित समाचार