प्रधानमन्त्री प्रचण्डले तेस्राे पटक पनि पाए विश्वासकाे मत

77 Shares

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत पाएका छन्।

बुधबार(आज) प्रधानमन्त्री प्रचण्डलेआफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा एक सय ५७  मत र विपक्षमा एक सय १०  मत खसेको हो। प्रतिनिधिसभामा दुई सय ६८  जना सांसदहरु उपस्थित भएका थिए। एक जना सांसदले मत दिन्न भन्ने पक्षमा आफ्नो मत जाहेर गरे। 

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा सय को उपधारा (९२०) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री प्रचण्डलाई नेकपा(एमाले),माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा),जनता समाजवादी पार्टी(जसपा),नेकपा(एकीकृत समाजवादी),नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र सांसद जसमा प्रभु साह,डा.अमरेश कुमार सिंह र योगेन्द्र मण्डलले विश्वासको मत दिएका हुन्। नेपाली कांग्रेस,राप्रपा,लोसपा,जनमतलगायतले प्रधानमन्त्री प्रचण्डकाे विपक्षमा  मत दिएका छन्। प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका हु्न्।  प्रचण्डले यसअघि  २०७९ पुस २६ मा पहिलो पटक र  चैत्र ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए।

पहिलो पटक बैठकमा उपस्थित दुई सय ७० सांसदमध्ये  दुई सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई मत दिएका थिए।  दोस्रो पटक बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये एक सय ७२ जनाले मत दिएका थिए। फागुन २१ गते नयाँ सत्ता समीकरण बनेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्।

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिएका हुन।  गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिएका हुन्।

नेकपा एमाले,माओवादी केन्द्र,रास्वपा,जसपा,एकीकृत समाजवादी,नागरिक उन्मुक्ति पार्टीलगायतले प्रधानमन्त्री प्रचण्डलाई भोट हाल्न ह्विप नै जारी गरेका थिए। दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक थियो। प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८८,एमालेका ७९,माओवादी केन्द्रका ३२,रास्वपाका २१,राप्रपाका १४,जसपाका १२ र एकीकृत समाजवादीका १०,जनमतका छ,लोसपाका चार जना,नागरिक उन्मुक्तिका चार,नेपाल मजदुर किसान पार्टीका एक,राष्ट्रिय जनमोर्चाका एक र स्वतन्त्र तीन जना सांसद रहेका छन्। 

जसमध्ये कांग्रेस सांसद टेकबहादुर गुरूङ र एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् भने इलाम-२ मा सुवास नेम्बाङको निधन भएकाले त्यहाँ उप निर्वाचन हुँदैछ।

सम्बन्धित समाचार