Close This

युवतीमाथि घरेलुहिंसा गर्ने युवक प्रहरी नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२१ गते   २७३६ पटक हेरिएको

सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय शिवकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । किशोरीको जाहेरीका आधारमा युवकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
विवाहको प्रलोभनमा पारी दलित समुदायकी युवतीमाथि अमानविय व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । आफूमाथि शोषण भएको भन्दै किशोरी र उनका परिवारले प्रहरी कार्यालय जाहेरी दिएका थिए । किशोरीले अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएकी र सोही जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राठौरले बताउनु भयो ।
उहाँले पक्राउ गरिएका यादवललाई अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको बताउनु भयो । जाहेरी परेपछि पीडक पक्षबाट आर्थिक प्रलोभन सहित धम्कीसमेत आउन थालेको पीडित परिवारले गुनासो गरेका छन् । प्रहरी र अधिकारकर्मी मिलेर किशोरीको उद्धार गरी जिल्ला सदरमुकाममा रहेको एक सेफ हाउसमा राखिएको छ ।
ती युवती दलित भएकै कारण घरेलु हिंसामा परेकी थिइन्। युवाले छाडेपछि ती युवतीलाई यादवका परिवारले गोठमा बन्दी बनाएर राखेका थिए ।
यादव परिवारले युवतीलाई दलित भएका कारण स्विकार्न नसक्ने भनी गोठमा थुनेर राखेका थिए । तर यस विषयमा स्थानीय अधिकारकर्मी तथा समाजसेवीले केही गर्न नसकेका भन्दै स्थानीय आक्रोशित भएका थिए । स्थानियले  युवतीको उद्धार र पीडकलाई कार्बाहीको माग गरेका थिए ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech