Close This

बाली लगाउने सिजनामा पनि जिल्लामा मल अभाव

रासस    प्रकाशित: २०७७-३-३ गते   ३६२ पटक हेरिएको

जिल्लामा धान रोप्ने समयमा मल अभाव भएपछि किसानहरु चिन्तित बनेका छन् । रोपाइँका लागि खेतमा ब्याड तयार भएको भएपनि सहज रुपमा मल उपलब्ध नहुँदा किसान चिन्तित बनेका छन् । 
केही व्यापारीले मल राखे पनि अभावको फाइदा उठाउँदै चर्को मूल्यमा बिक्री गर्दै आएका किसानहरुले गुनासो गरेका छन् । कोरोना भाइरसका कारण जिल्लामा मल नआउँदा बिक्री वितरणमा समस्या भएको कृषी सामाग्री संस्थान लिमिटेडले जनाएको छ । जिल्लामा अहिले मलको अभाव भएकाले किसान मारमा परेको संस्थानले जनाएको छ । 
मलको अभावमा धान रोप्ने समय भई सक्दा पनि किसानहरु चिन्तीत बनेका छन । ब्याडका लागि बीउ छर्नुभन्दा अगाडि डिएपी मल खेतमा हाल्ने गरेका किसानहरु धान रोप्ने समय सम्म पनि मल नपाउँदा थप चिन्तीत बनेका हुन । ‘बीउ छर्ने बेलामा मल नहाल्दा ब्याड यस वर्ष राम्रो हुन नसकेन’, जिल्लाका किसानहरुको गुनासो छ ।भारतबाट ल्याउन जाउ भने लकडाउनका कारण प्रहरीले जान दिँदैन् । अरु वर्ष नेपाली बजारमा अभाव हुँदा भारतबाट ल्याएर पनि खेती गर्थ्यौं । यसवर्ष कुनै उपाय नभएको किसानहरुको भनाई छ । 
जिल्लामा अहिले मलको अभाव रहेको कृषी सामग्री संस्थान लिमिटेडका प्रमुख बज्रमणि लामाले बताउनु भयो । धान खेतीका लागि मात्रै जिल्लामा १५ सय मेट्रिक टन डिएपी र २ हजार मेट्रिक टन युरिया मलको आवश्यक्ता पर्ने गरेको भएपनि लक डाउनका कारण मल ल्याउन नपाउँदा किसानहरु मारमा परेका लामाको भनाई छ ।  अहिले संस्थानमा करिब १ सय ५० मेट्रिक टन डिएपी र २ ट्रक युरिया बाँकी रहेको उहाँको भनाई छ । अहिलेलाई डिएपीको माग बढ्दो र गोदाममा भएको मलले एक दुई गाउँलाई पनि नपुग्ने लामाले बताउनु भयो ।  श्रावण तिर रोपाइँ भइसकेपछि युरिया चाहिन्छ । माग गरेका छौं । आयो भने सहज हुन्छ । लामाले बताउनु भयो ।
केही दिन अगाडि आएको मल मकै खेतीका लागि किसानहरुले लिएर गएका र अहिले धान खेतीको समय भएपनि गोदाममा मल नभएको उहाँले बताउनु भयो । किसानहरुले मलका लागि फोन गरेर हैरान बनाएका छन । अषाढ १ गतेदेखि मल सहकारीमार्फत बिक्री वितरण गर्ने तयारी गरेको उहाँले बताउनु भएको थियो तर संस्थानमा मल नै नभएर बिक्रि वितरण गर्न नसकिएको प्रमुख लामाले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech