मधेश प्रदेशका पुर्व प्रदेश सभा सदस्य एवम नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य अशोक यादव पक्राउ परेका छन्।उनलाई मंगलबार ललितपुरको हरिसिद्धिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले जनाएको छ ।मधेसी जनअधिकार फोरमका तर्फबाट मधेस प्रदेश सभा सदस्य बनेका यादवलाई जेठ २५ गते राति करिब ९ बजेको समयमा ज.१ त.२५५० नम्बरको ट्याक्टरले सडकमा रोकिराखिएको ना.६ ख.७६२३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो।उक्त ट्रक सर्लाहीको कविलासी नगरपालिका–८,अगर्वामा रोकिएको अवस्थामा थियो।ट्रकलाई ठक्कर दिएपछि ट्याक्टर घटनास्थलबाट भाग्न खोजेको थियो।
प्रहरीले ट्याक्टरलाई रोकेर दुवै सवारी चालकलाई आपसी छलफलमार्फत समस्या समाधान गर्न आग्रह गरेको थियो।सहमति हुन नसकेपछि प्रहरी कार्यालयमा आएर कानुनी प्रक्रियामा जान प्रहरीले उनीहरूलाई आग्रह गरेको थियो।
त्यसपछि ट्याक्टर चालकले घटनाबारे यादवलाई जानकारी गराउँदै घटनास्थलमा बोलाएका थिए।यादव घटनास्थलमा पुगेपछि उनीसँगै आएका केही व्यक्तिहरूले प्रहरीलाई घेरा हाली आक्रमण गरेको प्रहरीको आरोप छ।घटनापछि प्रहरीले यादवसहित संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको जनाएको थियो।सोही क्रममा यादवलाई मंगलबार हरिसिद्धिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।केही समय पहिला जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्कासंग फोन सम्वादमा विवाद भएको थियो।सोही विषयलाई लिएर सर्लाही प्रहरीले उनलाई घटना घटेको केही समयपछि नियन्त्रणमा लिएर यादव ११ दिन हिरासतमा बसेका थिए ।