Close This

आजबाट ईश्वरपुरमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२६ गते   ३२२८ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिकामा आज (मंगलवार) बाट राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्न सुरु भएको छ । सोमवार बयलवासस्थित नगरपालिकाको सभा हलमा जनप्रतिनिधि, वडा सचिव र शिक्षकहरुलाई राष्ट्रिय परिचय पत्र सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको र आजबाट राष्ट्रिय परिचय पत्र वितरण शुरु गरिने इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाले जानकारी दिनु भयो । 
 प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले सहभागीहरुलाई राष्ट्रिय परिचय पत्रका बारेमा प्रष्ट पार्नु भएकोथियो । प्रमुख जिल्ला अधिकारी महतोले सहभागीहरुले राखेको जिज्ञासाहरुको समेत समाधान गर्नु भएको थियो । अभियान अन्तर्गत आज पहिलो दिन वडा नं. ५ बाट विवरण संकलनको काम सुरु गरिने नगर प्रमुख देवकोटाले बताउनु भयो ।
उहाँका अनुसार क्रमैसँगै अन्य वडाहरुमा कर्मचारी परिचालन गरेर विवरण संकलनको काम अघि बढाइने छ । सरकारले नागरिकता लिइसकेका नागरिकलाई नागरिकता विस्थापित गर्दै राष्ट्रिय परिचय पत्र विवरण संकलन गर्ने गरी यो अभियान अघि बढाएको हो ।
अहिले लालबन्दी नगरपालिकाका वडाहरुमा विवरण संकलनको काम भइरहेको छ । साउन १ गतेबाट अभियान सुरु गरिएको लालबन्दीमा हालसम्म ७५ प्रतिशत व्यक्तिको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन भइसकेको र लालबन्दीमा रहेको टोलीलाई अब ईश्वरपुरतर्फ खटाइने प्रमुख जिल्ला अधिकारी महतोले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी महतोकै अध्यक्षता तथा नगर प्रमुख देवकोटाको प्रमुख आतिथ्यतामा आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख एकावती देवी चौधरी,सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दीलिप कुमार सिंह, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक  माधव प्रसाद बुढाथोकी, ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनक राज ढुंगाना, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव, अन्य कर्मचारी, शिक्षक लगायतको उपस्थिति रहेको नगरपालिकाले जनाएको छ  ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech